‘उतनी चली खिलौना, जितनी चावी भरी राम ने ।’
वि.सं.२०८० साउन १८ बिहीवार १२:३०
shares

राजन कार्की
राष्ट्रको वर्तमान दुर्गतिको कारण ७ दलले दिल्लीमा गरेका १२ बुँदे सम्झौताको प्रतिफल हो । परिवर्तनपछि नेतृत्व नैतिक धरातलमा उभिएको भए यतिसम्मको दुर्गति हुने थिएन । नेतृत्व इमानमा उभिएन, विदेशीले खेले, स्वदेशमा अस्थिरता आयो, स्थिति यतिसम्म खराव भयो कि नेपालै कब्जा गर्ने भारतीय रणनीति कामयाव भइरहेको छ । त्यसमाथि उत्तर र पश्चिमाको चलखेलले नेपाल चक्रव्यूहमा पो फस्न पुग्यो ।
यसकारण प्रश्न उठेको छ– किन राजा फालियो, हिन्दुधर्म फालियो, संघीयता भित्र्याइयो ?
यसको जवाफ कुनै पार्टी वा नेतासँग छैन ।
लोकतन्त्रजस्तो सुनव्यवस्थामा अक्षम नेतृत्व खोटा सिक्का, बढी टल्केजसरी टल्किरहेका छन् ।
खोटा सिक्काका दुबै पाटा हुन् नेपाली राजनीतिका पक्ष र विपक्षीहरू । प्रचण्ड, देउवा र केपी ओली कहिले को सँग को, कहिले कोसँग को मिल्छन् । यी सेटिङमा एक हुन्छन्, देखावटी रुपमा एकले अर्कोलाई ध्वस्त पार्न मरिमेटेको पनि देखिन्छ । नेपाली राजनीति यी तीन नेताको वरिपरि घुमेको छ ।
विप्लव र सीके राउत मूलधारमा आए, केही लछारपाटो लगाएनन् । संविधान मान्ने र संविधान नमान्ने सबै खोटा सिक्का लाग्छन् । यी सबै खोटा सिक्काका एउटा पाटो थिए, टल्किए, चलेनन् । चल्न दिइएन । चीन देखाउने भारो अमेरिकी अर्को पाटो टल्किन थालेको छ । यो पनि चल्ने छाँटकाँट देखिदैन । वीर छायाँमा छन्, निस्तेज छन्, किनारमा छन्, बाँकी सबै खोटा सिक्का हुन् ।
जो देश र जनताको होइन, जात्रे हुन्, रत्नपार्कमा चटक देखाएजसरी जात्रा देखाउनमै रमाइरहेका छन् । नेता भए पो राजनेता बन्ने भोक हुन्छ, रिमोटमा चल्नेहरू ‘उतनी चली खिलौना, जितनी चावी भरी राम ने ।’ परजीवी नेपाली राजनीति यही हो ।
नेपालको भूराजनीतिक महत्वमाथि यथार्थमा नेपालमा भारत महाराजको शासन छ, अमेरिका र चीन पनि घुसेका छन् । असली खेल त भर्खर सुरू भएको छ । नेताले खाने विदेशी पेडा हो, खान्छन् । नेपालले खाने गोल हो, बचाउने गोलकिपर छैनन्, गोलपोष्ट नै खाली खाली छ । प्रचण्ड माक्र्सवादी गान्धी कि गोड्से ? देउवा प्रजातन्त्रवादी कि अवसरवादी ? एमाले समाजवादी कि व्यक्तिवादी ?
२०६३ सालको परिवर्तनमा मुख्य भूमिका खेलेका माओवादी प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री नै बने । प्रधानमन्त्रीबाट खुस्केपछि प्रचण्ड संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई भेटेर फर्किएपछि लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका थिए, आजसम्म हुनसकेन ।
त्यसपछि २ पटक पुनः प्रधानमन्त्री बने, अहिले पनि प्रधानमन्त्री नै बनेका छन् । केही गरेनन् । किन ?
त्यतिबेला प्रचण्डको उक्त घोषणाका बारेमा इण्डियन एक्सप्रेस पत्रिकामा पूर्व ‘र’ प्रमुख पीके हर्मिस थाराकानको लामो विश्लेषणात्मक लेखमा टिप्पणी प्रकाशित भयो– ‘प्रचण्ड माक्र्सवादी गान्धी हुन् ।’ ‘र’ प्रमुखको टिप्पणीलाई ‘प्रचण्ड ‘र’का एजेण्ट हुन् भन्ने तत्कालीन एमाओवादीका महासचिव रामबहादुर थापाको आरोप र ‘प्रचण्डले क्रान्तिकारी गद्धारी गरे’ भन्ने बैद्यको आक्षेप पनि लागेकै थियो । आज प्रचण्डसँग न वैद्य छन्, न बादल छन् । प्रचण्ड त माओवादीका टाउको ल्याउनेलाई बोराभरि पैसा दिन्छु भन्ने २०५२ साले र प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा प्रधानमन्त्री चलाइरहेका छन् । प्रचण्डले देउवालाई त डोले पो बनाइदिए । अर्थात सर्वहारावादी बोक्ने भरिया बनेका छन् प्रजातन्त्रवादी नेपाली कांग्रेस ।
राजनीति र नदीको बहाव सोझो नहुनेरहेछ । गान्धीले अहिंसावादी बनेर अंग्रेजको हुकुमतलाई लखेटेका थिए । प्रचण्डले १२ बुँदे दिल्ली सम्झौतामा साँध लगाएको हिंसाको हतियार उठाएर राजतन्त्रलाई किनारा लगाए । हिन्दुधर्म फाले, धान्नै नसक्ने संघीयता भित्र्याएर कार्यकर्ता लालनपालन गर्ने खोरिया निर्माण गरे । स्वतन्त्र लोकमतबाट होइन, त्यस्तो १२ बुँदे दिल्ली सम्झौता र बन्दूकबाट निस्केको सन्तान हो लोकतन्त्र । गान्धीले परतन्त्रबाट भारतलाई स्वतन्त्र पारे, त्यही भारतीय लगानी र बलमा स्वतन्त्र नेपाललाई ‘विदेशी प्रभू’को जालमा पारियो, हालियो ।यसका मुख्य पात्र हुन्, प्रचण्ड ।
हिन्दीमा उखान छ ‘देखते जाओ, आगे आगे होता है क्या ?’
एमाओवादीले २०६३ साल कात्तिक ३० गतेदेखि प्रत्येक लडाकुसँग मासिक एक हजारका दरले उठाउन थालेको बचत कता गयो होला ? सरकारले दिएको क्याण्टोनमेन्ट अर्वौं रकम कता होला ? अख्तियारमा फाइल छ, खुल्दैन । बेपत्ता र मेलमिलाप आयोगमा उजुरी छ, सुनवाई हुँदैन । गंगामायाँहरू न्याय मागिरहेछन्, सुनवाई हुँदैन । भ्रष्टाचार भयो भनेर महालेखा लेख्छ, राष्ट्रपति रिपोर्ट बुझ्छ, र सरकार थन्क्याउँछ । सांसददेखि संवैधानिक पदहरू बिक्री हुन्छन् । न नीति बच्यो, न नैतिकता देखियो । लोकलज्जा छँदैछैन । पार्टीबाट नियुक्त लिन्छन्, न्यायाधीश नै आफ्नो चित्त हेर्छन्, कानुन हेर्न छाडे । असक्षमले हाँकेको गाडी र भ्रष्टले चलाउने लोकतन्त्रमा बाहुबली देखिन्छ । सत्ता सख्खर हो, झिङ्गा भन्किरहेछ ।
जो सत्तामा छ, आफ्नालाई बचाउने र प्रतिस्पर्धीलाई फसाउने उद्योग चलाइरहेको छ ।
‘जुठो खानु मीठोका लागि’ । हरेक व्यवसायी राजनीति गर्छ, हरेक राजनीति गर्नेहरू व्यवसाय गर्छन् । अपराधी, डन, गुण्डा, भ्रष्ट, अनैतिकहरूले राष्ट्रवादी बिल्ला भिरेर पार्टी प्रवेश गर्छन्, निधारमा रातो टिका र शिरमा सिन्दुर हालिरहेका छन् । सत्ता पाए सबै ठिक, नपाए सडक बिलाप गर्न कोही चुक्दैन । सही को हो, गलत को हो ? सत्ता र शक्तिको प्रतिस्पर्धा जित्न दिल्लीलाई ‘नमस्तुते’ गर्न कुनै गोरू पछाडि पर्दैनन् ।
यिनै भन्छन् छानबिन आयोग गठन गरौं । जब सत्ता र शक्ति यिनकै हातमा छ, यिनले संविधान मिच्छन्, यो देशमा अपराधिक माफिया नफस्टाए के फस्टाउँछ, छानबिनले के हुन्छ ?
मोहन वैद्यले परिवर्तनपछि भनेका थिए– ‘हिरो र भिलेन’ छुट्याउन गाह्रो भो । परिवर्तनको १६ वर्षपछि पनि स्थिति यस्तै अन्यौलपूर्ण छ । आफै बोक्सी, आफै धामी हुन् यिनीहरू । कुनै दिन बैद्यले प्रचण्डलाई ‘बोलीको ठेगान नभएको, नैतिकहीन, भ्रष्टाचारी’को पगरी गुथाएका थिए, आज यो मुखुण्डो हरेक नेताको मुहारमा देखिन्छ । बैद्यले बाबुरामलाई ‘राष्ट्रघाती, भारतपरस्त, जनघाती’ भनेर डामेका थिए, यो डाम आज प्रत्येक नेताको गालामा भेटिन्छ ।
ज्यानमारा बालकृष्ण ढुृङ्गेलले लेखेको संविधान हो यो, उनी मरेर गए, उनको भूतले कहिलेसम्म देशलाई सताउने हो ?
नेपाली राजनीतिमा कोही छैनन् अशोक स्तम्भजस्तो । बुद्ध नेपालमा जन्मे, बुद्धत्व बोधगायमा प्राप्त गरे । धर्मदेसना सारनाथमा भयो, महापरिनिर्माणको थलो कुसिनगर बन्यो । १८९६ मा पाल्पाका बडाहाकिम खड्गशमशेर र जर्मनका डा.फुररले अन्वेषण गरेर सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भको खुलासा गरेका थिए । विश्वभरिका बौद्धधर्माबलम्बीका लागि यो पवित्र स्थल हो । नेपाली राजनीतिका लागि ठगी केन्द्र बनेको छ ।
इतिहास भन्छ– कलिङ्गको युद्धमा लाखौंलाखको लाश देखेका सम्राट अशोक ‘मैले के जिते खोई ?’ भनेर आफैप्रति घृणित भए । लुम्बिनी आएर बुद्धमार्गी बने । ‘बुद्धम् शरणम् गच्छामी’ को मन्त्र पढेर आत्मशान्तिको खोज गरे ।
बुद्धको निर्वाणको भाव कसैमा आएन । हरेक नेताले राष्ट्रियतालाई हाट बजारमा खोयाविर्के रक्सी बेचेझैं बेचे । मारूनी नचाए झैं नचाए । एउटा माओवादी टोपबहादुर रायमाझी थिए, टोपी र दौरासुरूवाल लगाएका थिए । नागरिकलाई शरणार्थी बनाएर निकासी गर्ने मानव तस्कर पो निस्के ?
राष्ट्रनिर्मातालाई चिन्न सकेनन्, अनियमिततामा डुबेर क्रान्तिकारी हकार र डकार गर्न छाडेका छैनन् । यिनीहरू कहिले ऐना हेर्दैनन्, हेरेको भए देख्ने थिए, अनुहार कति विकृत भइसक्यो भनेर ।
सर्वहारावाद, समाजवाद र राष्ट्रवाद बोकेकाहरू आफै सर्प बनेर व्यभिचारमा घिस्रिरहेका छन्, दूध पिइरहेका छन् र सर्प नाच देखाएर जन जनको सातो लिइरहेकै छन् । प्रश्न यत्ति छ, यिनीहरूको देश र जनता डस्ने सर्पलीला कहिलेसम्म चलिरहला ? सेना र प्रहरीका भगौडा र अयोग्यहरू लडाकाहरूले संगठन खोलेको थिए । २० हजारको संख्यामा रहेका तिनले पनि राष्ट्रवाद बगारेको सुनिएको थियो । कमाण्डर सूर्यबहादुर घिमिरे र सहकमाण्डर भेषवहादुर केसीले ‘हतियारयुद्ध’ गर्न परे पनि पछाडि नहट्ने वक्तव्य निकाल्ने गर्थे । कुन दुलामा पसे पसे । नामोनिसान छैन ।
हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र, संघीयता राष्ट्रिय बिबादका स्थायी गाँठाहरू हुन्, सहमतिमा फुकाइएन भने द्वन्द्वका फिलिङ्गाबाट दावानल बन्न सक्छ । संविधान असफल भयो । लोकतन्त्रमा लोकमत नै प्रधान हो । लोकमतका लागि लोकमा उठेका विवादहरूको लोकअपेक्षा अनुसार नै अन्त्य हुनुपर्छ । हरेक दिन, हरेक हप्ता, हरेक महिना र वर्षैभरि सत्ता र शक्ति संघर्षमा भुल्नुपर्ने राजनीति भनेको धराप हो ।


































