kumari
stcnepal

मीना र प्रकाशको समूहले जित्यो ‘दोहोरी च्याम्पियन’को उपाधि

 

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

आजसाँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ ।

तृतीय र सान्त्वना समूहले क्रमशस् तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।

गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।

 

 

footer