kumari
stcnepal

दलहरु आदर्श र राजनीतिक सिद्धान्तबाट विमुख हुँदै

 

संसारभरमा गठन भएका राजनीतकि दलहरुको एउटै उदेश्य हो जनताको सेवा गर्ने र तिनै जनताले दिएको मतको आधारमा सरकारमा पुग्ने । दलहरुले एक अर्काप्रति प्रतिस्पर्धा गर्नुलाई अनुचित मान्न सकिँदैन । जनताको मतद्वारा सरकार निर्माण गर्न र आफ्नो दलको सिद्धान्त, नीतिलाई कार्यान्वयनमा जनतासामू लाग्नु उनीहरुको राजनीतिक उदेश्य हो । तर, पछिल्लो समयमा हामीकहाँ त्यस्तो अवस्था देखिएको छैन । सत्तामा पुग्नका लागि आ आफ्ना दलको नीति, सिद्धान्तलाई विमुख राखेर जसरी भएपनि सत्तामा पुग्ने र सत्ताको माध्यमद्वारा देशमा ब्रह्मलुट मच्चाउने प्रवृत्ति हामीकहाँ हुँदै आएको छ । आफ्नो पार्टीको नीति, सिद्धान्तलाई बन्धक राखेर सत्तामा पुग्ने प्रवृत्तिले गर्दा नत त्यस्ता पार्टीहरुको भविष्य सुरक्षित देखिन्छ नत तिनीहरुले जनताले चाहेजस्तो सेवा सुविधा जनतालाई नै दिन सकेका छन् । यी सबै कारणहरुले गर्दा अहिले नेपालका राजनीतिक दलहरु राजनीतिक आदर्श, सिद्धान्त र विचारबाट विमुख भईसकेको प्रतित भएको छ । धेरै जसो पार्टीहरुमा देशमा उत्पन्न संकट र अन्तरविरोध हल गर्ने कुनै स्पष्ट दृष्टिकोण र नीति नै देखिँदैन । संकट हल गर्ने र देशको उज्जल भविष्य जनतालाई देखाउने दृष्टिकोण नहुँदासम्म यी दलहरुलाई जनताले सहजै विश्वास गर्न सक्ने वातावरण देखिँदैन ।
हाम्रा राजनीतिक दलहरुले सत्तामा पुग्नलाई नै आफ्नो विजय ठाँन्दै आएका छन् । यो सरासर गलत प्रवृत्ति हो । सरकारमा नपुगेर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वमा धेरै उदाहरणहरु रहेका छन् । सत्तामा पुग्नका लागि आप्mनो पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्तमा पुग्दैमा जनताको सेवा हुन सक्दैन । दुईचार थान मन्त्री बनाइँदैमा आफ्नो पार्टीका नीति र सिद्धान्तलाई बन्धकी राखेर सत्ता स्वार्थमा रमाउने प्रवृत्ति दलहरुका लागि घातक सावित हुन सक्छ । पछिल्लो समयमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका दलहरुको कुनै नीति, सिद्धान्त नै मिल्दैन तर पनि उनीहरु सत्तामा रहिरहेका छन् । कुनै एक व्यक्तिको सत्ता स्वार्थलाई हेरेर आफ्नो पार्टीको नीति र सिद्धान्तलाई थाति राखेर दुई चार जनाको स्वार्थ पूरा गर्न सरकारमा जानु भनेको आफ्ना पार्टी समर्थकहरुलाई धोका दिनु मात्र नभएर आफैँले आफूलाई धोका दिनु हो ।
पछिल्लो समयमा राजनीतिक दलहरुले जसरी जे जस्ता हथकण्डा अपनाएरै सत्तामा पुग्ने रणनीति लिएका छन् । राजनीकि पार्टीहरुका नेतृत्व शक्तिप्रति अधिक सासित देखिएका छन् । जुनसुकै हर्कत गरेर भएपनि सत्ता र शक्तिको नेतृत्वमा पुग्ने प्रतिस्पर्धा पार्टी नेतृत्वमा देखिएको छ । चुनावमा जित्न भ्रष्ट र दलालहरु करोडौँ खर्च गरेर चुनाव जित्न सक्ने र करोडौँ करोड चन्दा दिन सक्ने व्यक्तिलाई दलहरुले टिकट दिने गरेका हुनाले पार्टीमा सक्रिय भएका तर चन्दा दिन नसक्ने र पैसा नभएकै कारण टिकट नपाउने भएकाले गर्दा असल र इमान्दार हुँदाहुँदै पनि त्यस्ता व्यक्तिहरु पछि पर्दै आएका छन् ।
निर्वाचनका बेला जनतालाई दिएका आश्वासनहरु पूरा गर्नुको बदला अप्राकृत्तिक गठबन्धन गरेर जनतालाई धोका दलहरुले दिने गरेकाले गर्दा राजनीतिप्रति युवा वर्गमा वितृष्ण बढ्दै गएको र उनीहरुले आफ्नो देशमा आफ्नो भविष्य नदेखेको हुनाले नै युवा वर्ग दिनहुँ बैदेशिक रोजगारमा र अध्ययनका लागि भन्दै विदेशमा गईरहेका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले युवावर्ग लक्षित कुनै कार्यक्रम ल्याउन सकेको छैन । दाहाल सरकार गफमै सिमित भएको छ । उसको ध्यान सत्ता गठबन्धनमा रहेका दलहरुका नेता तथा कार्यकर्ताहरु भ्रष्टाचारमा संलग्न भएका हुनाले उनीहरुलाई कसरी बचाउने भन्नेमै सिमित भएको जस्तो देखिएको छ ।
गठबन्धनको संयुक्त सरकार भएको भएपनि प्रधानमन्त्री दाहालले सत्तामै रहेका अन्य दलहरुलाई तर्साउँदै आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ भने पूरा गर्दै आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री दाहाललाई बोलीको टुँगो नभएको प्रधानमन्त्री भनेर जनतामा टिप्पणी हुने गरेको छ । आजभन्दा एक महिना अगाडि नै उनले भनेका थिए अब आफु कम बोल्ने काम गर्न नसकेका मन्त्रीहरुलाई हटाउने भनेर तर अहिले आफैँले असफल भनेका मन्त्रीहरुलाई उनले हटाउन सकेका छैनन् । उनकै पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत हटाउन नसक्ने प्रधानमन्त्रीले अन्य पार्टीबाट मन्त्री बनेकाहरुलाई हटाउँछु भन्नु फलामको च्युरा चपाउनु सरह भएको छ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरु नै भ्रष्टाचारमा संलग्न भएका र मुलुकमा अनेक काण्डहरु सतहमा आएका छन् । ती सबै काण्डहरुमा राजनीतिक दलका नेता र कार्यकर्ताहरुको संलग्नता देखिएकोले दाहाल सरकारले सत्ता गठबन्धनमा रहेका दलका नेता र कार्यकर्ताहरुलाई कानुनी दायरामा ल्याउँछ भन्ने विश्वास गर्नु आफैँले आफूलाई विश्वास नगर्नु हो ।
हालसम्म सतहमा आएका भ्रष्टाचारका काण्डहरुमा ललिता निवास जग्गा काड नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड, एनसेलको शेयर खरिद विक्रि काण्ड, बाँसबारी छाला तथा जुत्ता कारखाना काण्ड, बालमन्दिरको जग्गा भाडामा दिएको काण्ड लगायत धेरै काण्डहरु सतहमा आएका भएपनि त्यस्ता काण्डमा संलगन भएका सत्ता गठबन्धन दलका एउटा पनि नेता तथा कार्यकर्तामाथि कानुनी कारबाही भएको छैन भने पूर्व प्रधानमन्त्री र पूर्वसभामुखलाई त सरकारी साक्षीका रुपमा राखेर भ्रष्टाचारको मामिलामा उन्मुक्ति दिन निर्णय दाहाल सरकार र सत्ता गठबन्धनले नै गरेको हुनाले यो सरकार पनि सरकारका लागि सरकार मात्र रहेको हामीले ठानेका छौँ ।

footer