linktrix Long Ad
Salt Trading Long Ad

नागरिक राष्ट्र हो, राष्ट्रको माग राजतन्त्र हो

663
shares

 

राजन कार्की
अफगानिस्तानका राजा जहिर शाहलाई किनारा लगाएपछि उनी फर्केर आएनन्, अफगानिस्तान बम बारुदको धुवाँमा रङ्मङ्गिरहेको छ । कम्बोडियामा नरोदम सिंहानुकले पुनरागमन गरेपछि शान्ति र समृद्धिको मार्गमा लागिरहेको छ । १४ वर्ष भयो राजतन्त्र फालिएको, अराजकताको रोगले नछाडेले नेपालमा सिंहानुकको चर्चा सुरु भएको छ ।
किनकि राजा आउ देश बचाउ भन्दै टोल टोल, सहर सहरका नागरिक सडकमा निस्कन थालेका छन् । नागरिक भनेको राष्ट्र हो । राष्ट्र सडकमा निस्कदा बहदुल आयो, लोकतन्त्र आयो, राजतन्त्र गयो, राजतन्त्र फेरि आउँछ ।
सन १९५३ मा स्वतन्त्र भएपछि १७ वर्ष राजतन्त्र रहेको कम्बोडियामा राजा थिए नरोदम सिंहानुक । उनीमाथि ठूलो षडयन्त्र गरेर १९७० देखि ७५ सम्म खमेरुजको आतंकपूर्ण शासन चल्यो । राजा लखेटिए । १९७५ देखि १९९३ सम्म जनगणतन्त्र कम्बोडिया बनेर चल्यो र लाखौंलाख जनता काटिए, मारिए, लुटिए । अन्तमा जनताले नै बिद्रोह गरेपछि १९७३ मा पुनःराजतन्त्र स्थापित भयो र कम्बोडिया आफ्नै तरिकाले शान्तिपूर्ण सुशासन र स्वाधीतामा फर्किएको छ ।
तर, १९७३ मा अफगानिस्तानबाट राजा जहिर शाह लखेटिए । त्यसपछिका ४८ वर्ष अर्थात आजसम्म पनि कावुल आतंकको छायाँमा छ । बैधानिक र अवैधानिक शासनवीच आतंककारी साँढे जुधाइ जारी छ । अमेरिकनदेखि अनेक देशका सैनिकले अफगानिस्तानमा अड्डा जमाउँदा पनि अफगानिस्तानमा शान्ति हुनसकेन । हरेक दिन बम पड्किरहेका छन्, मान्छे मार्नेक्रम जारी छ । अफगानिस्तानको भाग्य र भविष्य बमगोला पड्किनु र मृत्युको समाचार बनिरहनुमा सिमित हुनपुगेको छ ।
अफगानिस्तानमा झैं नेपालमा पनि २०६५ साल जेठ १५ गते ‘ह्वाइट कू’ भयो । राजतन्त्र किनारा लाग्यो । तर नेपालमा हिन्दुधर्म र राजतन्त्रको मुद्दा उठिरहेकै छ र यतिबेला त आमनागरिक राजतन्त्र पुनःस्र्थापना गर्न सडक आन्दोलनमा निस्किएका छन् । धन्न नेपालमा विदेशी सेना तैनाथ भएको छैन, अहिलेसम्म नेपालीले आफ्नो निर्णय आफै गर्नसक्ने वातावरणमा छन् ।
पद्धति परिवर्तन भए पनि नेपाल शान्त, स्थिर र सकारात्मक रहनसकेन । कुनै पनि पार्टी अथवा नेताले नेपाल र नेपालीको विश्वास जित्न सकेनन् । बिगत १५ वर्षको राजतन्त्रबिहीन दिनहरुमा पार्टीतन्त्र र नेताको हैकमतन्त्र चलिरह्यो । सेटिङ र सिण्डिकेटका कारण नेपालमा नाम लोकतन्त्र रहे पनि लूटतन्त्र चलिरह्यो । यहीकारणले हो आम नागरिक यो पद्धिसँग खुशी छैनन् । हरेक नेतालाई घृणा गर्छन् । नेपाली जाति जतिपनि कष्ट सहेर सबर गर्न सक्छन् । त्यो सबरको सीमा नाघेछ, जनता सडक बिद्रोह गर्न बाध्य छन् ।
२०६५ सालसम्म राजतन्त्र थियो । राजा निरंकूश भए भनेर जनतालाई राजाविरुद्ध सडकमा उतारियो र त्यही बलमा राजतन्त्र निर्मूल पारियो । जनादेशका नाममा ‘ह्वाइट कू’ गरियो । तर आमनागरिक यो परिवर्तनलाई अव मान्ने पक्षमा छैनन् । जनताले राजा आउ देश बचाउ भनेर नारा लगाइरहेका छन् ।
पूर्वराजाको आह्वान छ– मिलेर राष्ट्रिय संकट दूर गरौं, सहमतिको राजनीति गरौं ।
ठूला पार्टीहरुले बेवास्ता गरेका छन्, पेलेरै अघि बढ्ने नीति लिएका छन् । अहिले गरेको भूल पछि न्याउरी मारी पछुतो नहोस् ।
स्मरणीय छ, राजपरम्पराअनुसार हरेक पर्वपर्वमा पूर्वराजाले जनताप्रतिको आफ्नो सान्निध्यता जनाइरहेका छन् । जनताले स्वागत र अभिनन्दन गरिरहेकै छन् । यो क्रम दिनदिनै बढेर गएको छ । पूर्वराजाको लोकप्रियता शिखरमा पुग्यो, शिखरमा पुगेका राजनीतिक नेतृत्व भुइबाट खाडलतिर जाकिदो छ । यही सन्दर्भमा पछिल्लो सन्देशमा पूर्वराजाले ‘देश र जनता अभिभावकविहीन भएको अनुभूतिसहितको सन्देश दिए । सहमतिका साथ अघि बढौं भने । यो सन्देश सार्वजनिक भएपछि देशैभरिका जनता झन उर्लिएर संवैधानिक भनिएको लूटतन्त्रको बिरोधमा सडकमा निस्किएका छन् । राज्य दमनले राजतन्त्र पुनस्र्थापना गर्ने आन्दोलन रोकिन्न भनिरहेका छन् ।
जनता सडकमा निस्किएकाले ‘जनता अभिभावकविहीन भए’ भन्ने सन्देश दिएर पूर्वराजालाई चुपचाप बस्ने छुट छैन । पूर्वराजाले निर्णय गर्नैपर्छ– जहिर शाह बन्ने कि सिंहानुक ?
पूर्वराजा जनताका माझ गइरहेका छन्, देशैभरिबाट पूर्वराजाको अभिनन्दनका लागि आग्रह आइरहेका छन् । पूर्वराजा सहभागी भइरहेका छन् । देखिन्छ, पूर्वराजा सिंहानुकको मार्गमा छन् ।
जहिर शाहले गद्दी त्याग गरेपछि दावी गरेनन् । सिंहानुकले आफूलाई पदच्यूत गर्नेहरु विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन गुहारे, चीनमा बसे र आमनागरिकसँग जुटिरहेका थिए, अन्नत १९९३ मा २३ वर्षपछि सिंहासन पुनः हासिल गर्न सफल भए । उनले देश र जनताप्रति नतमस्तक भएको बरदानमा पाएको सफलता थियो त्यो । नेपालमा पनि अवैधानिक रुपमा हिन्दुराष्ट्र र राजतन्त्र किनारा लगाएको १७ वर्ष हुनलाग्यो । परिवर्तनकारीहरुले आफू र आफन्तलाई मात्र परिवर्तन गरे, लोकतन्त्रको अस्लिल दृश्य देखाए । देश र जनताको बेवास्ता गरेकाले जनतामा नैराश्यता छाउँदै गएर आज बिद्रोहको अवस्थामा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनताका पक्षमा उभिने साहस गर्दैछन् ।
स्मरणीय छ, १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । बेलायतमा राजा जोनको कार्यकाल । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा राजा जोनलाई घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् । अर्थात इमान, नैतिकता र लोकलज्जाको भय र जनताप्रतिको जवाफदेहीता नै बेलायतको संविधान हो ।
नेपालमा ६ थान संविधान जारी भइसक्यो, स्थिरता आउन सकेन । वर्तमान संविधान सबैभन्दा असफल संविधान बनेको छ । कारण, यो संविधानलाई नेताहरुले यसरी कुल्चिए कि राजनीतिमा छाडा साँढे प्रवृत्ति नै हावी भयो । प्रशासनमा जंगली ध्रुवे हात्तीकै महामारी फैलियो । लोकलज्जा र नैतिक लक्ष्मणरेखा बाँकी नै रहेन । सुन्दर परिवर्तन र सभ्य समाज भन्दा भन्दै परिवर्तन कुरुप बनेको छ । जुन परिवर्तनमा जनताको आस्था बाँकी नै रहेन ।
यतिबेला राजतन्त्र चाहियो भन्ने हुरी चलेको छ । यो हुरीसँग कस्तो राजा, कस्तो राजतन्त्र भन्ने बहस पनि साथसाथै चलेको देखिन्छ । कारण के हो भने २००७ सालदेखि अनेकपल्ट व्यवस्था परिवर्तन भए, देश र जनताको अवस्था परिवर्तन गर्न सफलता हासिल भएन । जे जति देखियो, सकारात्मक परिवर्तनका दुस्परिणाममात्र देखिए । अहिले देखिएको जनताका तीब्र असन्तुष्टि र आक्रोश दुस्परिणामको प्रतिध्वनि हो । यहाँसम्म कि आमनागरिक त सेनाले सत्ता लिएर भड्किएको प्रजातन्त्रलाई सही बाटोमा ल्याउन अग्रसर हुनुपर्छ समेत भनिरहेका छन् ।

जसरी २०३७ सालमा सुधारिएको पञ्चायत कि यथास्थितिको पञ्चायत भन्ने प्रश्नमा जनमत संग्रह भएको थियो, १२ वर्ष पनि चलेन । ठिक त्यसै गरी अहिलेको लोकतन्त्रलाई सुधार्न सकिन्छ भन्नेहरु पनि बहसमा छन् । यही नेतृत्वले चल्छ भनेर पत्याउन कोही तैयार छैन । हिन्दु र राजतन्त्रवादीहरु लोकतान्त्रिक राजतन्त्रकै माँग गरिरहेका छन् । एउटा अभिभावक चाहिन्छ, हजार राजा पाल्न सकिन्न भन्ने आन्दोलनकारीको आवाज सुनिन्छ । यसैवीच आन्दोलनकारीहरु सर्वोत्कृष्ठ भनिएको २०४७ को संविधान ब्यूँताए सबै समस्याको समाधान निस्कने कुरा गर्छन् । स्मरणीय के छ भने २०४७ सालको संविधान निर्माताहरु नै लोकतन्त्रमा पनि मुख्य दलहरुकै रुपमा स्थापित रहेका छन् । आन्दोलनकारीहरु भन्छन्– २०७२ सालको संविधान आयातित विचारको प्रतिनिधित्व गर्छ, ०४७ को संविधान नेपालको माटो सुहाउँदो छ । जेहोस्, जनता र माटोले सुहाउँदो पद्धति खोज्यो । राजनीतिक हुरी चलिसक्यो, सुनामी नबनोस् । सबैमा चेतना रहोस् ।
आमनागरिकलाई यो खालको लोकतन्त्रले सन्तुष्ट पार्न सकेन । राजतन्त्रवादीको आन्दोलनमा सत्तापक्ष र प्रतिपक्षका नेता, कार्यकर्तासमेत सामेल भएबाट स्पष्ट हुन्छ– लोकतन्त्र दुर्घटनामा परिसकेको छ । यो संविधानले काम गर्न सक्दैन । प्रश्न गर्नेहरु गरिरहेका छन्– राजतन्त्र आउने मार्ग छैन । कुन बिधिबाट आउने । उनीहरु बिर्सिरहेका छन्– देशको, जनताको आवश्यकता परेपछि राजतन्त्र आउने मार्ग जनविश्वास हो । जनताले बनाउँछन् मार्ग । जनता योभन्दा बढी आक्रोसित भए भने बेलायतमा कुन बिधिबाट राजतन्त्र पुनस्र्थापित भयो र चलिरहेको छ, त्यो इतिहास पढ्दा उचित हुनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports