लोकतन्त्र लखनौं लूट बन्यो, लुटुने जात्रा जारी छ
वि.सं.२०८१ माघ ३ बिहीवार १८:२८
shares

राजन कार्की
२०५२–५३ सालतिर ५० सम्पादकको कलम भनेर तपशीलका विषयमा लेखिएका थिए । त्यतिबेला राज्यले सुनवाई गर्न बाध्य भएको थियो । ५० सम्पादकहरुले लेखेका विषय थिए– आवश्यकता उत्तरदायी प्रवृत्तिको, न्यायको प्रतिष्ठा आजको खाँचो, नेताहरुले मनन गर्नुपर्ने कुरा, प्रजातन्त्रको स्थायित्व र विकास, संस्कृत–संस्कृति र विकास, महिला हक हितका कुरा, बितेका वर्षलाई फर्केर हेर्दा, नीयम–नीति नाघ्ने नेताहरु, चुलिएको महगी र जनता, असन्तोषको निदान र उपचार खोजिनुपर्छ, जब पाखण्ड नै प्रतिष्ठित हुन्छ, कर्मचारी र राजनीति, बुद्ध सन्देश विश्व सन्देश बन्नुपर्छ, सक्षमताको अपेक्षा, यो दोष दलीय पद्धतिको होइन, प्रगतिशीलता र जनवाद, राजनयीकहरुको यो घातक प्रवृत्ति, महाकालीका छालहरु, प्रजातन्त्रले अझै क्रान्तिका अपेक्षा राख्दछ, मितव्ययिता र सरकार, विकासको पूर्व शर्त शान्ति र स्थायित्व, विश्वास गरिएकाले विवेकलाई बन्दक बनाउँदा, यस्तो किन हुन्छ ?, बजार भाउ र जनता, पतन्नोमुखी राजनीति आदि ।
०६३ सालमा परिवर्तन भयो । बागमतीमा धेरै पानी बग्यो । यही समयमा राजस्वको ब्रम्हलूट चल्यो । जगन्नाथ देवमा बाँडिने भत्तेरजसरी अहिले पनि संघीयताका नामसहितका ७६१ सरकारले बजेट उडाइरहेका छन् । मानौं, लोकतन्त्र लखनौं लूट हो । लोकतन्त्रका नाममा लुट्ने जात्रा चलिरहेको छ ।
सत्ताका लागि दलका सिद्धान्त सबै स्वाहा भएका छन् । स्वार्थका लागि प्रत्येक नेताले नैतिकता गुमाएका छन् । राजनीति नगरवधुजस्तो लाग्छ । बरु नगरबधुमा नैतिकता हुन्छ, नेताहरुमा नगरवधुजत्तिको पनि विश्वास बाँकी रहेन ।
लोकतन्त्रले नेतालाई मात्र खुशी दियो जनयुद्ध र जनआन्दोलनले । जनयुद्धका लडाका र जनआन्दोलित जनताका लागि यो परिवर्तन कौवालाई बेल पाकेसरह भयो । यसकारण जनताले परिवर्तन खोज्न थालेका छन् । जसरी सिक्किमका लेण्डु दोर्जी रमाएका थिए, उनको त्यो रमाइलो लामो समय टिकेन । भारतले सख्खरको झिंगा झिकेझैं झिकेर फालिदियो । पश्चाताप गर्दागर्दै जनघृणा सहेर लेण्डुपले प्राण त्याग्नुप¥यो । इतिहासमा राष्ट्रघातीका रूपमा दण्डित हुनुपरेको छ लेण्डुपले । यो ऐतिहासिक शिक्षाबाट केही सिकेनन् नेपाली नेताहरूले । हाम्रा नेताहरू स्वार्थको पोखरीमा यसरी डुबेका छन् कि उनीहरूलाई कुनै दिन पश्चाताप गर्नुपर्नेछ । त्यो दिन टाढा छैन ।
लोकतान्त्रिक राजनीतिमा कांग्रेस, एमाले, माओवादी, मधेसवादी, केही ससाना पार्टीहरू छन् । यिनकै वरिपरि राजनीति घुमिरहेको छ । यी दलभित्र आन्तरिक गुटबाजी त छ नै, अन्तरदल, अन्तर नेतृत्ववीच कहिले कसलाई, कहिले कसलाई खुइल्याउने प्रतिस्पर्धा तीब्र छ । यतिबेला कांग्रेस र एमाले मिलेर माओवादी र रास्वपा, राप्रपालाई खुइल्याउने जोडबल देखिन्छ । हिजोका दिनमा माओवादी र एमालेले कांग्रेसलाई, त्यसपछि कांग्रेस र माओवादीले एमालेलाई किनारा लगाउने प्रयास गरेका थिए । ठूला पार्टी नै जो बुढो उही बाटो… भएपछि राजनीतिमा नैतिकता र सिद्धान्त भन्ने समाप्त भएको छ ।
राजनीतिमा जो छन्, ०४६ सालको परिवर्तनपछिका ३५ वर्ष यिनैले शासन गरे । यी शासकले गरेको परिवर्तन भनेको आफू, आफ्नो परिवार, आफ्ना गणको सुखभोगमा हो । समाज बदल्न, सुशासन दिन, न्यायको प्रत्याभूति गराउन, विधिको शासन बसाल्न सकेनन् । परिवारवाद नै लोकतन्त्रको पर्याय बनेको छ ।
गर्व गर्नसक्ने नेता कोही भएनन् । नेतृत्व देश र जनताका लागि भार बनेका छन् । नेतृत्व बर्गले वर्तमान उज्यालो अवसरको दुरूपयोग गरेर कलंकित बने । जनयुद्ध र जनआन्दोलनपछि जुन जुन नेतालाई जनताले महान बनाए, तिनले महानता जोगाउन सकेनन् । लुट्नुमा तिनले महारथ हासिल गरे ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ५ पल्ट, माओवादी अध्यक्ष प्रचण्ड ३ पल्ट, एमाले अध्यक्ष केपी ओली ३ पल्ट प्राधनमन्त्री बनिसके । तिनले देश र जनताका लागि के गरे, कति उपलब्धिपूर्ण भयो परिवर्तन ? यसको सकारात्मक जवाफ छैन । यिनीभन्दा बदनाम प्रधानमन्त्री अरु भएनन्, यदीप जो जो प्रधानमन्त्री बने, कोही नैतिकवान रहेनन् ।
नेता यिनै हुन्, यिनकै कार्यकालमा भारतले सत्ता र सीमा दुबैतिर अतिक्रमण तीब्र पारेको छ । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरामात्र होइन, कञ्चनपुरमा ९ सय बिगाह नेपाली भूभागमा भारतीयले खेती गरिरहेका छन् । यसबाहेक ७७ ठाउँमा सीमा अतिक्रमण गरेको छ । नेपालको आन्तरिक शासनमा अतिक्रमण गर्दै भारतीय दूतावासले सिधै २० करोडसम्म नेपालका कुनै पनि योजनामा लगानी गर्न पाउने सुविधा यिनै नेताहरूले भारतलाई दिएका छन् । एक त खुला सिमाना, अर्कोतिर यसप्रकारको सिधा लगानी, नेपाली मानसिकतामा भारतवाद घुसाउँदैछ । त्यसै पनि भारतीय गोर्खाको पेन्सन क्याम्पहरू नेपालका विभिन्न जिल्लामा खोजिएका छन् । एयरपोर्टमा भारतीय सुरक्षाकर्मी राखिएको छ । यी सबै भारतीय कृयाकलाप भनेको नेपालमाथिको हस्तक्षेप, अतिक्रमण नै हो । लोकतान्त्रिक नेता, संसद, सांसद, सरकार, नागरिक समाजले यो सबै विषयलाई भारतीय हाजमोलाजसरी पचाइरहनु आश्चर्य हो । दुर्भाग्य हो ।
०५२, ०५३ तिर विवेक थियो सम्पादकहरुमा । बुद्धिजीवीहरुमा । तिनीहरु आज कोही बोल्दैनन्, केही लैख्दैनन् । राजनीतिले पत्रकारलाई समेत बदनाम पार्दै लगेको छ । गैरजिम्मेवार बनाउँदै लगेको छ । यस्तो दृष्टान्त विश्वमा कहीँ पनि देख्न सकिन्न । तर नेपालले भारतलाई यस्तो सुविधा दियो । नेपाल कति सार्वभौमिक मुलुक रह्यो ? नेपालमा स्वराज छ कि भारतराज ? देशका बारेमा कसैले प्रश्न उठाउँदैनन्, प्रश्न नउठेपछि बहस हुने कुरै भएन । नेपाल बिस्तारै जे पनि हुनसक्ने खतरामा परेको छ ।
नेताहरु सत्ता र यी सत्ताधारीहरू भ्रष्टाचार र अपराधिकरणमा लिप्त भइरहे । राजनीतिमा लुट्न पाइने, जवाफदेही हुनु नपर्ने, कुमारीचोक बुझाउनु नपर्ने भएपछि विधिका ठाउँमा बाहुबली विधि स्थापित हुनपुग्यो । हरेक क्षेत्रमा भाग शान्ति जय नेपाल चलिरहेको छ । यति सानो मुलुकमा ७ सय ६१ सरकार भ्रष्टाचारको साम्राज्य स्थापित गर्न चाहिएको हो । जनताले बहीखाता खोलेका दिन, खरी घस्दाका दिन परिवर्तनपछि अग्ला अग्ला देखिएका नैतिकहीन नेताहरूको हालत कतिसम्म दयनीय होला ?
भनिन्छ, बोली र बन्दुकबाट निस्केको गोली फिर्ता हुन्न । सतित्व र अस्तित्व गुमेपछि गुम्यो । जन्तरमन्तरमा फूमन्तरले न लेण्डुप बलिया भए, न यी नेता बलिया भइरहन्छन् । यिनको शासन र आसनको म्याद जनअसन्तोष बढ्दैजाँदा सकिदैछ । १९७५ मा दिल्लीले सिंहासनमै बसालेको होइन र लेण्डुपलाई ? स्वार्थ पूरा हुनासाथ खँगारिदियो । नोरियगा हुन् कि ओसामावीन लादेन, मार्कोस हुन् कि सद्दाम हुसेन, सबै विदेशीले तैयार पारेका हतियार थिए । हतियारको काम मालिकको इच्छाअनुसार काट्नु हो । हतियारमा जीवन हुन्न, चेत रहोस् । भनेर के गर्ने, स्वार्थलम्पटहरु कहिले चेतेनन्, तिनमा बुद्धिबंगारो पलाएकै छैन ।
चानचुने कुरा थिए, राष्ट्र निर्माण गर्नु । ठूलो दुःखले आर्जेको मुलुक हो यो । विश्वकै जेठोमध्येको मुलुक पनि नेपाल नै हो । पुर्षाले देश दिए, माटोप्रतिको मायाँ भयो भने सम्प्रभूता बाँच्ने पाठ पनि पुर्षाले पढाएर गएका हुन् । तर हामीले यो देशलाई थेग्न सकेनौं, सम्प्रभूता गुमाउँदै गयौं । लोकतन्त्र जो चलाइरहेछन्, ती देश र जनताका लागि सेवा गर्छु भनेर आएका प्रतिनिधि हुन् । जनता कूशासन र राष्ट्रघात भयो भनेर कोलाहल गरिरहेका छन्, सुशासन र समृद्धिको भाषणबाहेक नेतृत्व केही दिन सकिरहेको छैन । जता अलिकति सुख, शक्ति र सम्पत्ति देख्छ, नेतृत्व त्यो लुट्नका लागि मरिहत्तै गर्छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीको ३ सय ८७ बर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा पारिसक्यो । कुनै नेतालाई, संसद र सरकारलाई, विचारक र अधिकारकर्मीलाई दुख्दै दुख्दैन ।
यी कस्ता सार्वाभौम नेता हुन् ? यस्तो दुःखद लोकतान्त्रिक पद्धति र अकर्मण्य नेतृत्वलाई आधुनिक राज्यको सार्वभौम सिद्धान्त र एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मान्यता पढाउने, सम्झाउने कसले ? कुनै सम्पादक, बुद्धिजीवी त निस्क ।
पक्कै हो, अवसरवादीको देश हुन्न, यिनले देशलाई कुनै पनि बेला बेच्न सक्छन् । हाम्रा नेताहरूको बिगत हेरौं– नगरवधुको जत्ति पनि बोलीको ठेगान छैन । मह लेपन गरिएको मिष्टान्नजस्तो बनाए लोकतन्त्रलाई । भनिन्छ, खोटा सिक्का धेरै दिन चल्दैन । यी नेता पनि विश्व नजरबाट गिरिसकेका छन्, नेपाली नजरबाट गिरे पनि शक्तिमा त छन्, तर धेरै दिन चल्लानजस्तो लाग्दैन ।
लोकतन्त्रका नेता र ‘इम्परर न्यूक्लोथ’का बादशाहमा फरक छैन । यी नेताहरू दिल्लीमा गरेको १२ बुँदे सम्झौतालाई लोकतन्त्र भनिरहेका छन् र त्यही दिल्लीको सम्झौताको गाँड बोकेर बस्न जनता बाध्य छन् । अब जनविद्रोहको दिन नजिकिदै गएको भान हँुदैछ ।
नेतृत्वले स्वाभिमान गुमाइसक्यो । हाम्रा नेताहरूले कृष्णलालको मकैको खेती कहिले पढेनन् । राणाकालमा डम्बरशमशेर थापाले श्री ३ पद्म शमशेरलाई लेखेको प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर लेखेको पत्र थियो त्यो । डम्बर शमशेरजति पनि सचेत नागरिक देखिएनन् ।
कांग्रेस, एमाले र माओवादीलाई के भ्रम छ भने हामी नै लोकतन्त्र हौं । यो भ्रमबाट यिनलाई निकाल्ने जनताले हो । यिनलाई ज्ञात होस्– बाहुबलीतन्त्रले जनताको मन जित्दैन । चुनाव जित्दैमा लोकतन्त्र हुँदैन । लोकतन्त्रमा लोकको आवाजको सुनवाई हुनुपर्छ । लोकलाई दबाएर लोकतन्त्र जिवन्त हुन्न । लोकलाई जगाउने सम्पादकले हो, लेखक, चिन्तक, नागरिक समाजले हो । तिनीहरु किन लेख्दैनन्, बोल्दैनन्, खबरदार गर्दैनन् ?


































