लोकतन्त्र भनेको राजनीतिक दलहरु सर्वेसर्वा हुनु होइन
वि.सं.२०८१ चैत २८ बिहीवार १३:४०
shares

काठमाडौ । व्यवस्था परिवर्तन भयो तर राजनीतिक दलका नेताहरुको सोँचमा परिवर्तन आउन नसकेको हुनाले नै अहिलेको अवस्था आएको हो । नेताहरुमा मात्र होइन जनतामा पनि नयाँ सोच आउन सकेन । केही समय पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए जस्ता जनता त्यस्तै नेता भनेर । जनताले होइन राजनीतिक दलहरुले जनताको सोँचमा परिवर्तन ल्याउन सक्नुपर्नेमा राजनीतिक दलका नेताहरु चुक्दै गएका छन् ।
विगत ३४ वर्षदेखि पालैपालो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी भनेर हिडेका जनताले देशमा सुशासन चाहियो भनेर कहिल्यै बलियो आवाज उठाउन सकेनन् त्यसको एउटै कारण थियो जनता विभिन्न दलका कार्यकर्ता भएर बाडिएका थिए । जनताले सरकारको खबरदारी गर्नुपर्नेमा आ आफ्नो पार्टीको सरकार बनेका बेला जनता विभाजित भए त्यही कारणले गर्दा सरकार पनि जनतालाई विभाजित गराएरै सरकार सञ्चालन गर्ने क्रममा अघि बढ्यो । कांग्रेस नभए एमाले, एमाले नभए कांग्रेस र कांग्रेस नभए माओवादी, माआवादी नभए एमाले यिनै दलका वरिपरि देशको राजनीति घुम्यो ।
जनता तिनै दलका अघिपछि लागे राष्ट्रप्रति र आफ्नो मातृभूमि प्रति कहिल्यै बफादार बन्न नसकेको हुनाले नै यसै कारणले गर्दा देशको राजनीति स्थिर बन्न नसकेको सत्य वास्तविकता हो । जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि सत्तामा यिनै कांग्रेस, एमाले र माओवादीकै हालीमुहाली चल्दै आएको हुनाले दलहरुको मनोमानी बढ्दै गएको हो । जनता विभाजित नभए जनताको हैसियतमा उभिन सकेको खण्डमा जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि त्यो सरकार जनताप्रति उत्तरदायी बन्न बाध्य हुन्छ तर त्यसो हुने नसकेको हुनाले अहिलेसम्मका सरकारले जनतालाई भिडाएर शासन गरिरहेको प्रष्ट भएको छ । त्यस्तो अवस्थामा जनताका आवाज बन्द गर्ने गरिन्छ ।
जबसम्म जनताले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने वातावरण बन्न सक्दैन तबसम्म देशको अवस्था यस्तै दयनीय अवस्था भै रहिरहन्छ । राजनीतिक दलहरुले लोकतन्त्रको विकल्प छैन भनिरहँदा जनताका आवाजहरु सुन्नुका बदला जनताका आवाज दवाउन खोजिन्छ भने त्यस्तो व्यवस्थालाई लोकतान्त्रिक व्यवस्था भन्न सकिँदैन । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुनुपर्नेमा पछिल्लो समयमा जनता होइन राजनीतिक दल र तिनका नेताहरु नै सर्वेसर्वा भएका हुनाले जनताले विद्रोह गर्नुको विकल्प छैन ।



































