दलहरुकै कारण गणतन्त्रमाथि प्रश्न उठ्यो
वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४१
shares

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलको नेतृत्वमा लामो समयदेखि एउटै व्यक्ति रहँदा गणतन्त्रमा प्रश्न उठेको बताएका छन् । नागरिक अगुवाहरुले समेत त्यस्तै बताउँदै आएका छन् । तर प्रश्न उठाउने नागरिक समाजका अगुवा भनेका को हुन् ? उनीहरु नागरिक समाजको अगुवा हुन सक्दैन नागरिक समाजका अगुवा हुनु कुनै पार्टीमा संलग्न नभएका निष्पक्ष भूमिका निभाउन सक्ने व्यक्ति हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ ।
अहिले मुलुक दुई धारमा बाँडिएको छ । एक धारमा सत्तामा बसेका र सत्तालाई नै सबै कुरा देख्नेहरु रहेका छन् उनीहरु गणतन्त्रवादी हुन् भन्ने अर्को धारमा राजावादीहरु रहेका छन् । राजावादीहरुले आन्दोलन गरिरहेका छन् । तर गणतन्त्रवादीहरुले एकोहोरो राजावादीहरुलाई अनेक प्रकारका आरोप लगाउनुको बदला जनताको हितमा राम्रो काम गरेको भए जनता त्यसरी सडकमा जानुपर्ने आवशयकता नै थिएन ।
गणतन्त्रवादीहरुले हामीहरु नै देश हौँ हामीले नै गणतन्त्र ल्याएका हौँ भन्दै अर्को पक्षका विरुद्धमा जाने आरोप लगाएका र मुलुकलाई भ्रष्टाचारको जालोमा हालेको हुनाले गणतन्त्रमाथि नै प्रश्न उठेको छ । ठुला भनिएका राजनीतिक दलका शिर्ष नेताहरु लामो समयसम्म पदमा बसेका र उनीहरुको कार्यशैली जनताले देखिसकेका हुनाले उनीहरुमाथि प्रश्न उठेको हो ।
ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा रहेका दलहरुले पटक पटक सत्ताको नेतृत्व गरिसकेका छन् भने कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक, नेकपा एमालेका अध्यक्ष ४ पटक र माओवादी केन्द्रका पुष्पकमल दाहाल ३ पटक मुलुकको प्रधानमन्त्री रहिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल त झण्डै ४० वर्षदेखि अध्यक्ष रहेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले आ आफ्नो पार्टीमा नयाँ नेतृत्वको विकास नगरेको र आफ्नै पार्टीभित्र पनि पक्ष, विपक्ष जस्तो भएर पार्टी सञ्चालन गरिरहेका हुनाले जनताले उनीहरुले अब केही गर्न नसक्ने भन्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाइरहेका भएपनि त्यसको वेवास्ता गरिएको र गणतन्त्रलाई देखाएर अरुलाई दवाउने काम भएकाले गणतन्त्रमाथि प्रश्न उठेको हो । नेताहरु नसुध्रिएको अवस्थामा गणतन्त्रको भविष्य नै संकटमा पर्ने सम्भावना बढ्दै गएको छ । राजनीतिक परिवर्तन पछि पनि जनताका जीवनस्तरमा कुनै सुधार नआएको भएपनि नेता र पार्टीका झोलेका जीवनस्तरमा सुधार आएको छ । जनताले आफूलाई आवश्यक पर्ने सेवा सुविधा सहज रुपमा पाउन सकेका छैनन् भने भ्रष्टाचारले गर्दा मुलुक नै संकटमा पर्ने अवस्थामा देखिएकोले अहिले जनता सडकमा आएका हुन् ।



































