आज देखि धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने
वि.सं.२०८२ साउन १ बिहीवार १६:१४
shares

काठमाडौं । आज देखि धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो ।सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।साथै सार्वजनिक विदाको दिन र शनिबार पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।
विगतमा धरहरा बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुला रहँदै आएको थियो ।‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं, धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने ।०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।
सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।





































