सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन विरुद्ध पेस भएको १० वटा रिट निवेदन दर्ताको तयारी
वि.सं.२०८२ असोज २९ बुधवार १७:०२
shares

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध पेस भएको १० वटा रिट निवेदन दर्ताको तयारी थालेको जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनःस्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै १० वटा रिट निवेदन पेस भएका छन् । पेस गरिएका रिट निवेदनहरू दर्ताका लागि रसिद काट्ने कार्य भइरहेको छ ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।
रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा.प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभास पोखरेल, आयुष भण्डारी, डम्बरप्रसाद शिवाकोटी, अनिल कार्की, अधिवक्ता दलबहादुर धामीसमेत रहेका छन् ।
































