तीन करोड रूपैयाँ भन्दा बढीको घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान
वि.सं.२०८२ कात्तिक १३ बिहीवार ११:१७
shares

काठमाडौँ । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ।
सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो।
विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ। सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइन मार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन पेस गर्नुपर्नेछ। विभागले यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शिता र नियमन कायम गर्नका लागि लागू गरिएको जनाएको छ ।



































