राप्रपा नेपालको राप्रपासँग पार्टी एकताको प्रस्ताव
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १६:५५
shares

काठमाडौँ । समान बिचार भएका राजनीति दल र सक्तीहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसंग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ ।
लिङ्देन निवास ललितपुरको लामाटारमा आज बिहान भएको भेटघाट र छलफल सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणका बारेमा गम्भीर छलफलका साथ समान बिचार भएकाहरुबिचको सहकार्य र एकताको आवश्यकता बारे गहिरो चर्चा परिचर्चा भएको समेत उनले बताए ।
“राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ, पार्टी भित्र छलफल गरी पुनः चाँडै नै छलफलमा बस्ने भन्नुभएको छ“ लिङ्देनको भनाई उद्धृत गर्दै बर्तौलाले भने ।लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए ।






































