सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा प्रवेश
वि.सं.२०८२ मंसिर २३ मंगलवार १९:५४
shares

काठमाडौं । सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । सुदूरपश्चिमले अब शनिवार दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ ।पराजित भएपनि विराटनगरले फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ । बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर खेलको विजेतासँग विराटनगरले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।
दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षीय रुपमा खेलमा हाबी बनेको थियो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो ।विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।त्यही ओभरको अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगरले दोस्रो विकेट गुमायो ।दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३-३ को खराब अवस्थामा पुगेको थियो ।
एक छेउबाट लगातार विकेट जाँदा फाफ डु प्लेसीले अर्को छेउबाट सम्हाल्ने प्रयास गरेका थिए ।डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । यी दुईले इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर बसिर पनि आउट भएपछि विराटनगर दबाबमा पार्यो । सुदूरका कप्तान दीपेन्द्रले बसिरलाई कट एण्ड बोल्ड गरेका थिए ।लोकेश बलमले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए तर ५ रनमा आउट भए । उनलाई अविनाश बोहराले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका नारायण जोशीलाई हर्मीतले बोल्ड गरेपछि विराटनगरले ९.१ ओभरमै ५३ रन बनाउँदा छैटौं विकेट गुमायो ।
११औं ओभरमा विराटनगरले डु प्लेसीसहित दुई विकेट गुमाएपछि इनिङ्स धरासयी बनेको थियो । एक छेउ सम्हालेका डु प्लेसीलाई हेमन्त धामीले शेल्डन ज्याक्सनबाट क्याचआउट गराए । त्यही ओभरमा प्रतिश जिसी पनि रनआउट भए ।त्यसपछि मर्चेन्ट डे लाङ १५ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा आउट भए ।विराटनगरलाई अलआउट गर्न सुदूरपश्चिमका बलरहरुले उत्कृष्ट बलिङ र फिल्डिङ गरेका थिए । सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २-२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए ।





































