‘म पार्टी राजनीतिमा आएँ, अब सहकार्य गरौं : मेयर बालेन
वि.सं.२०८२ पुस १० बिहीवार १७:३९
shares

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेनले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन् ।
बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले जेनजीहरूसँग यस्तो बताएका हुन् । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर शाहले आग्रह गरेका छन् ।
‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै भण्डारीले भने ।मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुन: छलफल हुने बताइएको छ ।
रवि र बालेनबीच बिहीबार अपराह्नसम्म अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ ।यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।
रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरे । त्यसमा सल्लाह गरे संख्या अनुपात तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।



































