जाँचबुझ आयोगको एमाले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी
वि.सं.२०८२ पुस १७ बिहीवार १५:१३
shares

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।
‘ओलीलाई बोलाउने क्रममा छौं,’ कार्कीले भने ।आयोगले बोलाउदा ओली उपस्थित नभए के गर्नुहुन्छ ? भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए ।सो क्रममा कार्कीले जवाफमा भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ । बयान सकिएलगत्तै आयोगले लेखकमाथि लगाएको स्थान हद पनि फुकुवा गर्ने तयारी गरेको छ ।
साथै, कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे ।‘एक महिनाको म्याद थपिएको छ । त्यही म्यादभित्र हामी प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।





































