एमालेमै फर्किए नेता भण्डारी
वि.सं.२०८२ फागुन ११ सोमवार १२:५२
shares

दोलखा । नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएकी छन् ।
उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जीतविर लामा, लालकुमार केसी लगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो ।पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्ताले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने ।
उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनको भनाइ थियो।चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी)मा सक्रिय भएका थिए । पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको उनले बताए । उनको पुनरागमनलाई दोलखामा एमाले संगठन सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
पार्टी नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।





































