सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश खबरकाे निर्वाचन विशेष अन्तरक्रिया : पत्रकारको सुरक्षालाई लिएर सरोकारवालाकाे चिन्ता

1.05K
shares

सुनसरी, फागुन १६ : कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आसन्न निर्वाचनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूको सुरक्षालाई लिएर सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा विराटनगरका पत्रकार किशोर बुढाथोकीले यस पटकको निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताए।

केही दिनअघि झापामा रिपोर्टिङका क्रममा पत्रकार अर्जुन आचार्यमाथि हातपात भएको घटनालाई स्मरण गर्दै उनले पत्रकार सुरक्षाको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गरे। यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

उदयपुरका पत्रकार अञ्जनि कुमार घिमिरेले फिल्डमा समाचार सङ्कलन गर्दा सतर्कता नअपनाए पत्रकारहरू भौतिक आक्रमणको जोखिममा पर्न सक्ने बताए।

प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेले निर्वाचन सुरक्षाको नेतृत्व नेपाली सेनाले गरेकाले पत्रकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था रहेको धारणा राखे।

अघिल्ला निर्वाचनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अग्रभागमा रहने गरेको उल्लेख गर्दै उनले सेनासँग पत्रकारहरूको जनसम्पर्क तुलनात्मक रूपमा कम हुने भएकाले रिपोर्टिङमा कठिनाइ आउन सक्ने बताए।

उनले पत्रकार तथा सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीलाई प्रेस पास, सवारी पासलगायत आवश्यक कागजात तयारी अवस्थामा राख्न आग्रह गरे।

प्रदेश खबरका समाचार प्रमुख कृष्ण भट्टराई जुनेलीले पत्रकारहरूले आफ्नो सुरक्षामा स्वयं सचेत रहँदै सत्य तथ्य र निष्पक्ष ढङ्गले रिपोर्टिङ गर्नुपर्ने बताए।

तेह्रथुमका पत्रकार प्रकाश पाक्सावाले अहिलेको चुनावी वातावरणमा रिपोर्टिङ गर्दा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरे। सुरक्षाकर्मीहरू नै असुरक्षित महसुस गरिरहेको अवस्थामा पत्रकारहरू झनै जोखिममा पर्न सक्ने उनले बताए।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका संवाददाताले आ–आफ्नो जिल्लामा निर्वाचनको तयारी र रिपोर्टिङको अवस्थाबारे धारणा राखेका थिए। साथै, निर्वाचन लक्षित समाचार सङ्कलन तथा सम्प्रेषणमा उत्कृष्ट प्रदर्शन गर्ने संवाददातालाई ‘टप अफ द मन्थ’ घोषणा गरी पुरस्कृत गरिने जानकारी दिइयो।

नयन मिडिया एण्ड एड्भरटाइजिङ प्रालीका अध्यक्ष तथा प्रदेश खबरका प्रधान सम्पादक पवन अधिकारीले निर्वाचन लक्षित रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताए।

पत्रकार र पत्रकारिताको पक्षमा आवाज उठाउने सङ्घ–संस्थाले सम्बन्धित निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न पहल गर्नुपर्ने उनले धारणा राखे।

कार्यक्रममा प्रदेश खबरमा कार्यरत पत्रकारहरूको सुरक्षाका लागि प्रेस ज्याकेट र परिचयपत्र वितरण गरिएको थियो।

कार्यक्रममा इटहरी इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, काफल्सका प्रबन्धक सन्तोष धमला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि शङ्कर गुरागाईँ लगायतको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports