सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुदै

819
shares

काठमाडौं । आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो ।

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार आज केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्‍याइन्छ । आज राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ ।

त्यसपछि चैत्र १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । चैत्र १४ गते साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ र चैत्र १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।

प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ ।

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् ।

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ ।

महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports