पूर्णबहादुर खड्काले भोलि आइतबार पनि बोलाए बैठक
वि.सं.२०८३ वैशाख ५ शनिवार १८:५६
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा भोलि आइतबार सवा १२ बजेका लागि बैठक बोलाइएको खड्काको सचिवालयले जनाएको छ ।‘उपत्यकामा उपलब्ध १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल आयोजना गरिएको हो,’ खड्काको सचिवालयले भन्यो ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार निर्णय दिएको थियो । गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विशेष महाधिवेशनलाई गत माघ ४ गते निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का सर्वोच्च अदालत गएका थिए ।अदालतले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिएपछि खड्का पक्ष शनिबार पनि छलफलमा जुटेको छ ।
गोल्फुटारस्थित खड्कानिवासमा आज पनि बैठक बस्यो । बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत सहभागी छन् ।डा. शेखर कोइराला र उनी पक्षधर नेता भने बैठकमा सहभागी भएनन् ।





































