बाढी प्रभावित पत्रकार र उनिहरूका परिवारजनलाई नेपाल पत्रकार महासंघको सहयोग
वि.सं.२०८३ भदौ २३ मंगलवार १०:४८
shares

बागमती । नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका पत्रकार तथा उनीहरुका परिवारजनलाई रु एक लाख सहयोग गरेको छ ।
महासङ्घले परिवारजन र सम्पत्ति गुमाएका रसुवाका निराजन पौडेल, बाढी प्रभावित पत्रकार नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारजनलाई आर्थिक सहयोग उपलब्ध गराएको महासङ्घका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । प्रभावित पत्रकार तथा परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको उनले बताए ।
महासङ्घ बागमती प्रदेशका अध्यक्ष मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल, धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारलाई भेटेर सहयोग गरिएको नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका सचिव काजी श्रेष्ठले जानकारी दिए । बाढीबाट सञ्चारमाध्यमसमेत प्रभावित भएका उनले उल्लेख गरे ।
“कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार सङ्कलनमा कठिनाइ भएको छ । विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या हुनुका साथै सञ्चार उपकरणमा समेत क्षति पुगेको छ,” सचिव श्रेष्ठले भने ।
विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेको अवस्थामा बाढीबाट प्रभावित पत्रकारको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहत र उद्धारका विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक रहेको अध्यक्ष मगरले बताए । विपद्मा परेका पत्रकारको पुनःस्थापना, बेपत्ता पत्रकारको खोजीका लागि नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशले पहल गरिरहेको उनले बताए ।






































