राहत र उद्धारमा प्रभावकारी रूपमा परिचालित हुन एमाले अध्यक्ष ओलीको निर्देशन
वि.सं.२०८३ भदौ २७ शनिवार ११:०२
shares

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीप्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई शुक्रबार (२६ भदौ) निर्देशनसहित बिदाइ गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिए । विपद्प्रभावित नागरिकलाई तत्काल सहयोग पुऱ्याउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे ।
एमालेले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्याउन विभिन्न तहमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।






































