सशस्त्र प्रहरीका एआईजी दाहालमाथि सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही सिफारिस
वि.सं.२०८३ असोज २३ शुक्रवार ०९:१६
shares

काठमाडौं । आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालमाथि सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही सिफारिस भएको छ ।
अर्का एआईजी अन्जनी कुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले दाहालमाथि दफा ११३ अनुसार कारबाही गर्न गृह मन्त्रीसमक्ष सिफारिस गरेको हो ।सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । त्यसैले अब गृहमन्त्री सुधन गुरुङले आवश्यक निर्णय गर्न सक्नेछन् ।‘करिब १२/१३ पेजको बयान पेपरसहित दफा ११३ बमोजिम कारबाही सिफारिस भएको छ,’ सशस्त्र प्रहरी स्रोतले भन्यो ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज १० गते राति काठमाडौंस्थित घरबाटै पक्राउ गरेर ११ गते अपराह्न छाडेको थियो । यद्यपि अपराध अनुसन्धान कार्यालयले सुरक्षा थ्रेटको सूचना पाएपछि घरमा ल्याएर राखेको जनाएको छ । दाहालमाथि झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप उनीमाथि लगाइएको छ ।




































