नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि चरणबद्ध आन्दोलनको घोषणा गर्ने
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १६:५९
shares

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि पापडलाई सक्रिय बनाई चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ।
मिडिया काउन्सिल विधेयक आम सञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा महासङ्घद्वारा काठमाडौँमा आयोजित अन्तरक्रियाले त्यस्तो निष्कर्ष निकालेको हो।प्रेस काउन्सिल सम्बन्धी अध्यादेश एकपक्षीय रहेको र सरोकारवालाहरुसँग छलफल नै नभएको ठहर गर्दै अन्तरक्रियाले उक्त विधेयक फिर्ता गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निचोड पनि निकालेको छ ।
केही दिन अघि पत्रकारहरूमाथि भएको धरपकड र गिरफ्तारीका घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले विद्यमान अवस्थाबारे प्रधानमन्त्री, मन्त्रीहरू र राजनैतिक दलहरूलाई ध्यानाकर्षण गराउने जनाएको छ।त्यस्तै संसद्मा प्रतिवादको वातावरण सिर्जना गर्न सांसदहरुसँग बहस पैरवी गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर अन्तर्राष्ट्रिय निकायलाई ध्यानाकर्षण गराउने, जेनजी अगुवाहरूसँग अन्तरक्रिया गर्ने लगायतका निष्कर्ष निकालिएको महासङ्घले जनाएको छ।
कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, महासङ्घका पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, महासचिव राम प्रसाद दाहाल, सल्लाहकार रमेश विष्ट, नेपाल बार एसोसिएसनका अध्यक्ष डा.विजय मिश्र, राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, वरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले आआफ्ना धारणा राखेका थिए।




































