‘वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने कुरा विधानमा छैन र परम्परा पनि होइन’
वि.सं.२०७८ चैत १७ बिहीवार १२:०२
shares

रमेश थापा, अध्यक्षका उम्मेदवार, नाट्टा
पर्यटन क्षेत्रको हक अधिकार र प्रवर्द्धनका लागि गठन भएको पुरानो संस्था ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ (नाट्टा)मा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। ‘मुनसन ट्राभल्स एन्ड टुर्स’का सञ्चालक रमेश थापाले आफ्नो प्यानलसहित अध्यक्ष पदका लागि उम्मेदवारी दिइसकेका छन्। काभ्रेपलाञ्चोकको पर्यटकीय नगर पनौती, सुब्बा गाउँमा जन्मिएका थापाले यसअघि नाट्टाको सचिव, महासचिव र उपाध्यक्ष भइसकेका छन्। यसै सन्दर्भमा रमेश थापासँग गरिएको कुराकानीको सम्पादित अंश :
नाट्टामा वरिष्ठ उपाध्यक्षपछि अध्यक्ष बन्ने परम्परा छ । सँगै उसलाई पूर्वअध्यक्षहरुको पनि समर्थन हुन्छ भन्ने छ नि ?
कुरा त्यस्तो होइन । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने भन्ने कुरा नाट्टाको विधानमा उल्लेख नै छैन । पूर्वअध्यक्षहरुले पनि कहिँ कतै त्यस्तो भन्नु भएको छैन । पूर्वअध्यक्षहरु भनेका हाम्रा अभिभावक र मार्गदर्शक हो। त्यस्तो व्यवस्था र विधान थियो भने पूर्वअध्यक्षहरुले पनि यस विषयमा केही हुन्नुहुन्थ्यो होला नि ?
अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ। सर्वसम्मतिको प्रयास गर्नुभएन ?
सर्वसम्मतिका प्रयास त गरेको हुँ । अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतसँग सहकार्यको प्रयास गरियो, तर त्यो सफल हुन सकेन। सर्वसम्मत नेतृत्व चयनका लागि वरिष्ठ पर्यटन व्यवसायी तथा नाट्टाका पूर्वपदाधिकारीहरुसँग पनि अनुरोध गरेको थिएँ। यो सामाजिक काम गर्ने संस्था भएकाले सामाजिक काम गर्नका लागि मैले समय मिलाएको छु। यसपटक मलाई नेतृत्वमा जानु दिनुस् भनेपछि धेरै संवाद र छलफलपछि नै म नेतृत्वका लागि अगाडि बढेको हुँ।

तपाईं र तपाईंको प्यानल राजनीतिक ढंगले अगाडि बढेको भन्ने छ नि?
यो राजनीतिक ढंगबाट भन्ने कुरा मैले बुझिनँ । यो एउटा विशुद्ध पर्यटन व्यवसायीहरुको संस्था हो। र, यहाँ राजनीति हुनुहुँदैन भन्ने लाग्छ । यो गैर राजनीतिक संस्था भएकाले यहाँ त्यस्तो राजनीति भएजस्तो मलाई लाग्दैन।
समाचारहरुमा आएअनुसार संस्थाटको नेतृत्व वरिष्ठ उपाध्यक्षले नै गर्छ र नीतिगत तथा संस्थागत कुरामा वरिष्ठ उपाध्यक्षकै प्रतिनिधित्व हुन्छ भन्छन् नि ?
संस्थाको नेतृत्व भनेको अध्यक्षले गर्ने हो। संस्थाको नेतृत्व भनेको संस्थाका अध्यक्ष हो । संस्थाको अध्यक्ष नभएको परिप्रेक्ष्यमा मात्र उपाध्यक्षले प्रतिनिधित्व गर्ने कुरा विधानमा उल्लेख छ। अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गरेका काम र कार्यक्रमहरुमा गरेको प्रतिनिधित्वहरु पनि संस्थाको नेतृत्वले नै गरेको ठहर्छ । तसर्थ नीतिगत र संस्थागत कुरा गर्ने काम पनि नेतृत्व यानिकी अध्यक्षले गर्नुहुन्छ।
अन्त्यमा तपाईंको उम्मेदवारी चाहिँ किन ?
तीन दशकदेखि यो क्षेत्रमा काम गरिरहेको छु। संस्थानमा सचिव, महासचिव, उपाध्यक्षलगतयका पदमा रहेर काम गरिसकेको छु। यी सबै अनुभव र अन्य संस्थाहरु रहेर गरेको कार्यानुभावले पनि संस्था चलाउन सक्षम छु भनेर उम्मेदवारी दिएँ।
देशविदेश भएका ट्राभलमार्ट, एक्जिभिसनलगायत विभिन्न पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गरेको छु। त्यहाँ सिकेको कुरा र बटुलेका अनुवभले पनि संस्थालाई अगाडि बढाउन सहज हुन्छ भन्ने लाग्छ ।
साथै संस्थामा आएका समस्याहरु बिएसबीआयता, टुरिस्ट बस टर्मिनल, पयर्टन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न, मिडिया रिसर्च सेन्टर निर्माण लगायतका एजेन्डालाई स्थापित गर्न पनि मैले नेतृत्वमा जाने निर्णय गरेको हुँ ।

































