नुवाकोटमा बस्यो जसपाबिना सत्ता गठबन्धन बैठक
वि.सं.२०७८ चैत २१ सोमवार १४:१८
shares

काठमाडौं ।सत्तारूढ पाँच दलले स्थानीय तह चुनावमा वडा सम्म नै गठबन्धन गर्ने भने पनि नुवाकोटमा जनता समाजवादी पार्टी (जसपा) बिनै दलहरूको बैठक बसेर तालमेलको छलफल गरेका छन्।
चैत १८ मा नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक बसेर चुनावी तालमेलको प्रारम्भिक छलफल गरेका थिए। सत्ताघटक जसपा र राष्ट्रिय जनमोर्चाबिनै बैठक बसेको थियो।
यसरी बैठक बस्नु जसपालाई उपेक्षा, अपमान र निषेध गर्न खोजेको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले टिप्पणी गरेका छन्। उनले यस्तो ‘हर्कत स्वीकार्य नहुने’ बताएका छन्।‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जो कसैले गरे पनि त्यो स्वीकार्य हुन्न,’ आइतबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्।
उनले गठबन्धनको मर्यादा पालना गर्न सबैलाई आग्र हसमेत गरेका छन्। ‘गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारिता पूर्वक पालना गरौं, कुनै छलछाम नगरौं,’ उनले भने, ‘राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं।’ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धनलाई कायमै राख्ने औपचारिक निर्णय भएको थियो। यसअनुसार प्रदेश, जिल्ला र पालिका तहमा पाँच दलीय प्रतिनिधि राखेर संयन्त्र बनाउने सहमति पनि भएको थियो।




































