एकीकृत समाजवादी झापामा ५ दलीय गठबन्धन बाट बाहिरियो
वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:२७
shares

झापा । झापामा ५ दलीय गठबन्धन बाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ । नेपाली कांग्रेसले एकलौटी रुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धन बाट बाहिरिएको घोषणा गरेको हो ।
एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमति बाट कांग्रेस पछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको बताए । ‘अस्ति जे सहमति भएको थियो, त्यो उल्ट्याउने काम भयो’, उनले भने, ‘अरुलाई जिताउन मात्र किन गठबन्धन गर्नु ?’
एकीकृत समाजवादीले गठबन्धन बाट बाहिरिने घोषणा सँगै झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ । एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गठबन्धन बाट बाहिरिएपछि आवश्यकताका आधारमा छुट्टै गठबन्धनका लागि वार्ता थालिएको बताए । उनले भने, ‘राप्रपा र जसपा सँग पनि छलफल गरिरहेका छौं ।’
समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो । तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थियो । ‘हामीले उपप्रमुख दिँदा पनि कम्तिमा ४ वटा चाहिन्छ भनेका थियौं’ रेग्मी भन्छन् ।
कांग्रेसका नेताहरु समाजवादीले अस्वभाविक रुपमा भाग खोजेको दाबी गर्छन् । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भागबन्डा बारे सैद्धान्तिक सहमति भएको र हस्ताक्षरको तयारी भइरहेको बताए । स्रोतका अनुसार झापामा कांग्रेसले १४ वटा स्थानीय तहको प्रमुखमा दाबी गरेको छ भने माओवादीलाई एउटा स्थानीय तहको प्रमुख दिने सहमति भएको छ ।




































