नेकपा एसलाई ६५ जिल्लामा एकल्याईयो : अध्यक्ष नेपाल
वि.सं.२०७९ वैशाख ११ आइतवार १६:३५
shares

काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँडमा देशैभर धोका पाएको छ । एक महानगरपालिका र एक उपमहानगरपालिकाको प्रमुख पाएको एकीकृत समाजवादीलाई जिल्ला र प्रदेश बाट हुने बाँडफाँडमा कांग्रेस र माओवादीले नराम्रो सँग पाखा लगाएको हो ।
कांग्रेस माओवादीले नेकपा एसको हैसियत कतै नदेखिएको भन्दै पाखा लगाएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले नै महानगर उपमहानगरमा उत्साही बनाए पनि जिल्ला बाट धोका पाएको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ । सो पार्टीलाई धरान उपमहानगरमा एक जना वडाध्यक्षमा सीमित गरिएको छ ।
पूर्वको ताप्लेजुङ देखि पश्चिमको कञ्चनपुर सम्म पनि एकीकृत समाजवादीलाई ठाउँ दिइएन । नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनी समेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजूद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघर गरी भागबण्डा गरेको भन्दै नेकपा एसले आपत्ति समेत जनाएको छ । विज्ञप्ति मार्फत् गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धन बाट बाहिरिएर आफ्नो पार्टी अघि बढ्ने तर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।
झापामा वडा सदस्य समेत दिन आनाकानी गरेपछि गठबन्धन बाट एकीकृत समाजवादी बाहिरिएको छ । मोरङ र सुनसरीमा पनि उही हविगत भएको छ । संखुवासभा र तेह्रथुम बाहेक प्रदेश नम्बर १ मा एकीकृत समाजवादी अलग्गिएको छ । नेकपा एसका उपमहासचिव डा. विजय पौडेलका अनुसार ७७ मध्ये ६५ जिल्लामा गठबन्धनले आफूहरुलाई पेलेको छ ।







































