kumari
stcnepal

धादिङको बन्चरे डाँडामा प्रहरीको सुरक्षामा फोहोर बिसर्जन सुरु

काठमाडौं ।काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसी स्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् ।

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको राईले बताइन् । स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।

स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । सिसडोल स्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास छ । बन्चरेडाँडा सम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ–जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

 

footer