एमालेको तत्काल राज्यमन्त्री वलीलाई बर्खास्त गर्न सरकार सँग माग
वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:४२
shares

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकार सँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरी माथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।
वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । ‘विगतमा पनि उहाँ संग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएका थिए, तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय छ’–ढकालले भने, ‘आफू जस्तै अर्की महिला माथि हातपातमा उत्रिनु लज्जाजनक हो, यसले सबै सांसद र प्रदेश बासीको शीर निहुराएको छ ।’ नेता ढकालले राज्यमन्त्र वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टी हुने बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आफूले घटना बारे समाचार मार्फत थाहा पाएको र थप बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेको खबर पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।







































