kumari
stcnepal

वानएक्स बेट सहित अवैध डेढ सय एप तथा वेबसाइटहरु बन्द हुने

काठमाडौं ।नेपालमा गैर कानुनी रुपमा सञ्चालन भइरहेको एप तथा वेबसाइटहरु बन्द हुने भएका छन् । नेपाल दुरसञ्चार प्रधिकरण (एनटीए)ले ‘वानएक्स बेट’ सहित अवैध डेढ सय एप तथा वेबसाइटहरु बन्द गराउने भएको हो । नेपाल गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी, नेटवर्किङ र बेटिङ एप तथा वेबसाइटहरुलाई तत्काल बन्द गराउन दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिइने दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘यसका लागि हामीले राष्ट्र बैंक, सीआईबी र गृह मन्त्रालयका प्रतिनिधि राखेर अध्ययन समिति बनाएका छौं, समितिको प्रतिवेदनले देखाएका एप तथा वेबसाइटहरुलाई बन्द गर्ने निर्णय मैले गर्छु,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘एनटीएको सहायक निर्देशकको संयोजकमा गठित उक्त समितिले वानएक्स बेट सहित १ सय ५६ वटा वटा एप र वेबसाइट सिफारिस गरेको छ । तिनीहरुलाई तत्काल बन्द गराउन इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई निर्देशन हुन्छ ।’ एनटीएको संयोजकत्वमा सीआईबी, गृह मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधिसहित ‘क्रिप्टोकरेन्सी कारोबार सम्बन्धी अध्ययन समिति’ गठन गरिएको गरेको हो । समितिको अध्ययन प्रतिवेदनले ९१ वटा क्रिप्टोकरेन्सी, ७ वटा नेटवर्किङ र ५६ वटा बेटिङ एप तथा वेबसाइटहरुलाई बन्द गराउनको लागि सिफारिस गरेको छ ।

एनटीएले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराध सँग सम्बन्धित वेबसाइट र एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल तथा कालोसूचीमा राख्न आईएसपीहरुलाई निर्देशन दिन लागेको हो । यस अघिपनि एनटीएले यस्ता केही एप तथा वेबसाइटहरु डिसेबल तथा कालोसूचीमा राख्न आईएसपीहरुलाई निर्देशन दिएको थियो । ती एप तथा वेबसाइट बन्द गर्ने निर्देशन कार्यान्वयनको अवस्था बारे पनि सोही समितिले अनुगमन गरिरहेको छ ।

यसअघिसम्म राष्ट्र बैंक, सीआईबी/प्रहरी, सञ्चार माध्यममा आएका समचार र अन्य माध्यम बाट आएका गुनासो तथा उजुरीको आधारमा एनटी स्वयंले अध्ययन गरी अवैध ठहर भएका एप तथा वेबसाइटहरु बन्द गराइरहेको थियो । तर, एनटीएले बन्द गराएको एपलाई अदालतले पुनः सञ्चालन गराउने आदेश दिएपनि समिति गठन गरिएको अध्यक्ष खनालको भनाइ छ ।

 

 

footer