अर्थ मन्त्रालयको बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको भनाइ
वि.सं.२०७९ असार १९ आइतवार १७:३३
shares

काठमाडौं ।अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेज बारे भने मन्त्रालय बोलेको थिएन ।
पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजे देखि २५ गते बिहान ६ बजे सम्म र १४ जेठ २०७९ बेलुका ६ बजे देखि १५ गते बिहान ६ बजे सम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएको थियो ।
आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिन सम्मको मात्र रहने जवाफ मञ्चलाई दिएको छ । मन्त्रालयको पत्रमा भनिएको छ, ‘सीसीटिभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिन सम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने छ ।’


































