बाजुराको बुढीगंगा नगरपलिकामा भोलि बिहीबार निर्वाचन हुने
वि.सं.२०७९ असार २२ बुधवार १०:०५
shares

धनगढी ।बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भय रहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।
‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएका छौं’ प्रजिअ अधिकारीले भने, ‘सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौं ।’
उनले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाट प्रहरी निरीक्षक-इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए । उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजे देखि मतदान हुनेछ ।





































