प्रमुख प्रतिपक्षी दल एमालेले एसपीपीको मुद्दा ओझेलमा पार्न म माथि आक्रमण गर्यो : जनार्दन शर्मा
वि.सं.२०७९ असार २३ बिहीवार १६:३२
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफू माथि आक्रमण भएको बताएका छन् । एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफू माथि आक्रमण भएको बताएका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मा माथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ । समिति गठन भएपछि शर्माले बुधबार नै अर्थमन्त्री पद बाट राजीनामा दिएका थिए । राजीनामाको भोलिपल्ट बिहीबार कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा माओवादी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै शर्माले भने, ‘एसपीपीमा राष्ट्रघात भएको मुद्दा ओझेल पार्न यो मुद्दा उठाइएको हो’ उनले भने, एसपीपीको मुद्दा ओझेल पार्न जुन खालको व्यवहार गरिएको छ । यसको प्रतिवाद गर्न आवश्यक छ ।’
शर्माले हाल निर्वाचन आयुक्त रहेका तत्कालिन रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलको भनाइ बाहिर आएपछि एसपीपीमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको पुष्टि भएको पनि दावी गरे । पौडेलले एसपीपीमा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचारको विषय रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका तत्कालिन प्रधानमन्त्री ओलीलाई जानकारी रहेको बताएका थिए । शर्माले प्रतिनिधिसभाले छानबिन समिति गठन गरिसकेपछि एमालेले संसदमा आफू माथि गरेको व्यवहार आपत्तिजनक रहेको बताए । ‘एकातिर कमिटी बनेको छ, अर्कोतिर अपराधी करार गरिरहेको छ’ उनले भने, ‘ सांसदहरुले काउन्टर दिने प्रयत्न त गर्नुभयो, तर सभामुखले समय दिनुभएन, दिनुपर्थ्यो ।’
शर्माले आफूले पार्टीको निर्देशनमा देश र जनताको हितमा बजेट बनाएको र यो बजेट कार्यान्वयनले पार्टीको लोकप्रियता अझ बढाउने दावी गरे । ‘मैले पार्टीको निर्देशनमा देशको हितमा, जनताको हितमा बनाएको बजेट हो’ उनले भने, ‘त्यस माथि हमला भइरहेको छ त्यसको प्रतिवाद गर्न आवश्यक छ ।’






































