काठमाडौंको फोहर आज देखि एक हप्ता नउठ्ने
वि.सं.२०७९ साउन ५ बिहीवार ०७:१८
shares

काठमाडौं ।आज देखि काठमाडौंको फोहोर एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । नुवाकोटको सिसडोल देखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा सम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजे देखि दिउँसो १२ बजे सम्म मात्रै उपत्यका बाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थल सम्म पुग्ने गरेका थिए ।
कामपाले जारी गरेको सूचनामा यो अवधिमा आआफ्नो घर पसल व्यवसाय बाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरिएको छ ।
हरेक दिन उपत्यका बाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यस मध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोल भन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यका बाट दैनिक उत्सर्जन हुने फोहर मध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।





































