समानुपातिक व्यवस्था नै हटाऔं
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०९:२४
shares

काठमाडौ । संविधानले सबैको संसदमा प्रतिनिधित्व होस् भनेर समानुपातिक तर्फबट पनि सांसद बन्न पाउने व्यवस्था गरेको भएपनि राजनीतिक दलहरुले त्यसलाई कमाई खाने भाँडो र आफ्ना मान्छेलाई सांसद बनाउने खेल खेल्दै आएका छन् ।
विगतमा जस्तै यस पटक पनि प्रधानमन्त्री, मन्त्रीहरु र पार्टीका महत्वपूर्ण पदमा बसेका व्यक्तिहरुकै आसेपासे र श्रीमती लगायत परिवारका सदस्यहरुलाई नै भागवण्डा गरि सांसद बनाइएको हुनाले प्रायः सबै पार्टीभित्र असन्तोष जन्मिएको छ ।
नेपाली कांग्रेसले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई समानुपातिक कोटाबाट सांसद बनाएको छ भने नेकपा एमालेले समेत महासचिव शंकर पोखरेलकी बहिनीलाई र विवादास्पद रहेका क्रिस्यिचन धर्म प्रचारक भनिएका एकनाथ ढकाललाई समेत खस आर्यको कोटाबाट सांसद बनाएको छ ।
पार्टीमा रहेर लामो समयसम्म काम गरेका व्यक्तिहरु छुटेको भन्दै नेपाली कांग्र्रेस, नेकपा एमाले लगायत अन्य पार्टीहरुमा समेत सांसद छान्ने कार्यको विरोध भएको छ ।
राजनीतिक दलहरुले लामो समयसम्म काम गरेका व्यक्तिहरुले पदको आशा गर्नु ठिक भएपनि नेतृत्वले कामको मूल्यांकन गर्न नसकेको र केहीलाई पटक पटक पदमा पु¥याउने गरेको भन्दै का्रगेंसमा समेत नेतृत्वको विरोध भएको छ ।
यस पटकको निर्वाचनमा समानुपातिकतर्फबाट नेकपा एमालेले सबैभन्दा बढी मत पाएर समानुपातिक तर्फबाट ३४ जनालाई सांसद बनाउने सिट पाएको थियो भने कांग्रेसले ३२ सिट पाएको थियो ।
कांग्रेसले पाएको ३२ सिट मध्ये तीन जना मात्र पुरुषलाई पठाउनु पर्ने भएपछि उक्त स्थानमा देउवाका विश्वासपात्र एवं प्रवक्ता प्रकाशशरण महत, विमलेन्द्र निधि र दलितबाट जीवन परियारले मौका पाएका छन् भने निधिकी भान्जी समेत सांसद बनेकी छन् । प्रदेशसभा सांसदहरुमा समेत परिवारवादले स्थान पाएको प्रष्ट रुपमै देखिएको छ ।
संविधानले जुन कल्पना गरेर समानुपातिकतर्फको व्यवस्था गरेको हो त्यसलाई दलहरुले मजाकका रुपमा लिएर आ आफ्नो स्वार्थ मात्र पुरा गर्दै आएकाले समानुपातिक कोटा नै हटाउनुपर्ने आवश्यकता देखिएको छ ।






































