२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अपवित्र गठबन्धन नै अहिलेको मूल समस्या

923
shares

 

निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । कुनै पनि दलले एक्लै सरकार बनाउने परिणाम संघीय संसद र प्रदेशसभामा ल्याउन सकेनन् । त्यसै कारणले गर्दा अब दुई वा दुई दल भन्दा बढीको मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता दलहरुलाई आइलागेको छ । अर्थात टालटुली बाटुली कति राम्री पुतली भन्ने झैँ सरकार निर्माण हुने निश्चित रहेको छ । दलहरुले गठबन्धन र तालमेल गरेर निर्वाचनमा गएका हुनाले जनताले उनीहरुलाई एक्लै सरकार निर्माण गर्ने अभिमत दिएनन् । दलहरुको अपवित्र गठबन्धनले गर्दा निर्वाचन परिणाम पनि त्यस्तै आएको छ । कस्तो सरकार निर्माण गर्ने र को प्रतिपक्षमा बस्ने र संसदीय राजनीति कस्तो हुने भन्ने नै अहिलेको मुख्य प्रश्न हो ।
गठबन्धन गरेर निर्वाचनमा दलहरु गएका भएपनि उनीहरुले बहुमत ल्याउन सकेनन् किन ? गठबन्धन नै अपवित्र रहेको हुनाले यस्ता गठबन्धन र तालमेललाई जनताले स्वीकार गरेनन् । दलहरुले राजनीतिलाई विकासको लागि राजनीति बनाएका हुनाले जनताले त्यसलाई तिरस्कार गरेका छन् । राजनीति भनेको विकासको लागि हुनुपर्नेमा हाम्रा राजनीतिक दलहरुले विकासका लागि राजनीति भन्ने सिद्धान्तलाई अंगिकार गरेका छन् । पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई मध्यनजर राख्दै राजनीति गरेका हुनाले पुराना र ठुला भनिएका दलहरुप्रति जनताले असन्तुष्टि जाहेर गरेका छन् ।
नयाँ दलहरुको उदय त्यही कारणले भएको हो । ६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले चासो देखाएर उसलाई गठन भएको ६ महिनाभित्रमा संघीय संसदमा पु¥याईदिएका छन् भने उसले समानुपातिक तर्फ मुलुकभरमै राम्रो मत पाएको छ । रास्वपा लगायत अन्य नयाँ दलहरुले समानुपातिक तर्फ राम्रो मत पाएकाले गर्दा कांग्रेस र एमालेले २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ ल्याएको मत यस पटक घटेको छ । मतदाताको संख्या बढेको अवस्थामा मत संख्या बढ्नुको सट्टा मत घट्नु भनेको कांग्रेस र एमालेको लागि दुःखद पक्ष हो । कांग्रेस र एमालेले अब आफ्ना गल्ती, कमी कमजोरी सुधार नगरेको खण्डमा अर्को निर्वाचन सम्म पुग्दा उनीहरुको संंख्या अझ घट्न सक्ने अवस्था देखिएको छ । मतदाताको संख्या बढ्दै जानु तर पुराना र ठुला भनिएका दलहरुप्रति जनताको विश्वास घट्दै जानु भनेको ती दलहरुप्रति जनताको अविश्वास नै हो ।
नेपालमा अहिले ६ वटा राजनीतिक धारहरु देखिएका छन् । पहिलो धार उदार लोकतन्त्रवादी धार जसको नेतृत्व नेपाली कांग्रेसले गर्दै अँएको भएपनि ऊ समेत सत्ताको प्रलोभनमा परेर आफ्नो विचार र सिद्धान्तलाई छोडेर जुनसुकै दलसँग पनि विचारै नमिल्दा पनि गठबन्धन गरेर सत्ता प्राप्ति गर्ने खेलमा सक्रिय भएको छ । दोस्रो धार भनेको माक्सवादी, समाजवादी धार हो । जसको नेतृत्व नेकपा एमालेले गर्दै आएको छ । यो धारभित्र माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीपनि आउन सक्छन् तर उनीहरु पनि आफ्नो नीति, सिद्धान्त र विचारलाई छोडेर सत्ता प्राप्तिकै लागि कांग्रेससँग टाँसिन पुगेका छन् । त्यो पनि सत्ता प्राप्तिकै लागि र व्यक्तिगत स्वार्थका लागि तेस्रो धार भनेका संघियतावादी र पहिचानवादी धार त्यसधारभित्र मधेशवादी दलहरु पर्दछन् ।
चौथो धार भनेको उग्रवामपन्थी कम्युनिष्ट धार त्यो धारमा रहेकाहरुले नेपाललाई जनगणतन्त्र बनाउने सपना देख्ने गरेका भएपनि अहिलेकै अवस्थामा त्यो कुनै हालतमा पनि सम्भव देखिँदैन । जनतालाई झुठा आश्वासन दिएर मात्र जनगणतन्त्रको स्थापना हुन सक्ने अवस्था रहँदैन । पाँच धार भनेको पुरातनवादी, राजावादी धार हो त्यसको नेतृत्व राप्रपा लगायतका दलहरुले र राजावादी हुँ भन्नेले गर्दै आएका छन् । छैठौँ धार भनेको नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरु हुन् । यस धारमा रहेकाहरु पनि लेफ्ट र राइट वा सेन्टरमै रहेका छन् । यी सबै धारमा रहेका शक्तिहरुमा फुट, विभाजन र पार्टीगत स्वार्थ अनि व्यक्तिगत स्वार्थले प्रभाव पारेको प्रष्ट रुपमै देखिएकोले गर्दा कोही पनि एकै ठाउँमा बस्न सक्ने अवस्था देखिँदैन ।
पछिल्लो निर्वाचनको परिणाम हेर्दा आजका दिनमा संघीय संसदभित्र तीनवटा गठबन्धन बन्न सक्छन् । जस्तै मध्यपन्थी, वामपन्थी र दक्षिणपन्थी यी तीन वटै गठबन्धनको राजनीति स्वाभाविक रुपमा भएको खण्डमा र जवाफदेही भयो भने मात्र संसदीय अभ्यसले काम गर्न सक्छ । यदि त्यसो भएको खण्डमा राजनीतिक प्रतिस्पर्धा हुन सक्छ । राजनीतिक प्रतिस्पर्धा भएमात्र त्यो गतिशिल हुन्छ । त्यसो भएको खण्डमा सरकारले पनि आफ्नो विचर, कार्यक्रम नीति अनुसार अघि बढ्न सक्छ । अनि प्रतिपक्षीले पनि सरकारको आलोचनात्मक खबरदारी गर्न सक्छ । सरकार लयमा फर्किएपछि संसद पनि आफ्नो लयमा फर्किन बाध्यता हुनुपर्दछ तर अहिले त्यस्तो अवस्था देखिएको छैन ।
दलहरुले अपवित्र गठबन्धन गरेका हुनाले जबसम्म त्यस्ता अपवित्र गठबन्धन तोडिँदैन तबसम्म नत सरकार नै जवाफदेही हुन सक्छ न त संसदले नै विवेकपूर्ण ढँगले काम गर्न सक्छ ? त्यसै कारणले गर्दा अहिले भएको अपवित्र गठबन्धन तोड्न आवश्यक भएको हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports