kumari
stcnepal

अपवित्र गठबन्धन नै अहिलेको मूल समस्या

 

निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । कुनै पनि दलले एक्लै सरकार बनाउने परिणाम संघीय संसद र प्रदेशसभामा ल्याउन सकेनन् । त्यसै कारणले गर्दा अब दुई वा दुई दल भन्दा बढीको मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता दलहरुलाई आइलागेको छ । अर्थात टालटुली बाटुली कति राम्री पुतली भन्ने झैँ सरकार निर्माण हुने निश्चित रहेको छ । दलहरुले गठबन्धन र तालमेल गरेर निर्वाचनमा गएका हुनाले जनताले उनीहरुलाई एक्लै सरकार निर्माण गर्ने अभिमत दिएनन् । दलहरुको अपवित्र गठबन्धनले गर्दा निर्वाचन परिणाम पनि त्यस्तै आएको छ । कस्तो सरकार निर्माण गर्ने र को प्रतिपक्षमा बस्ने र संसदीय राजनीति कस्तो हुने भन्ने नै अहिलेको मुख्य प्रश्न हो ।
गठबन्धन गरेर निर्वाचनमा दलहरु गएका भएपनि उनीहरुले बहुमत ल्याउन सकेनन् किन ? गठबन्धन नै अपवित्र रहेको हुनाले यस्ता गठबन्धन र तालमेललाई जनताले स्वीकार गरेनन् । दलहरुले राजनीतिलाई विकासको लागि राजनीति बनाएका हुनाले जनताले त्यसलाई तिरस्कार गरेका छन् । राजनीति भनेको विकासको लागि हुनुपर्नेमा हाम्रा राजनीतिक दलहरुले विकासका लागि राजनीति भन्ने सिद्धान्तलाई अंगिकार गरेका छन् । पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई मध्यनजर राख्दै राजनीति गरेका हुनाले पुराना र ठुला भनिएका दलहरुप्रति जनताले असन्तुष्टि जाहेर गरेका छन् ।
नयाँ दलहरुको उदय त्यही कारणले भएको हो । ६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले चासो देखाएर उसलाई गठन भएको ६ महिनाभित्रमा संघीय संसदमा पु¥याईदिएका छन् भने उसले समानुपातिक तर्फ मुलुकभरमै राम्रो मत पाएको छ । रास्वपा लगायत अन्य नयाँ दलहरुले समानुपातिक तर्फ राम्रो मत पाएकाले गर्दा कांग्रेस र एमालेले २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ ल्याएको मत यस पटक घटेको छ । मतदाताको संख्या बढेको अवस्थामा मत संख्या बढ्नुको सट्टा मत घट्नु भनेको कांग्रेस र एमालेको लागि दुःखद पक्ष हो । कांग्रेस र एमालेले अब आफ्ना गल्ती, कमी कमजोरी सुधार नगरेको खण्डमा अर्को निर्वाचन सम्म पुग्दा उनीहरुको संंख्या अझ घट्न सक्ने अवस्था देखिएको छ । मतदाताको संख्या बढ्दै जानु तर पुराना र ठुला भनिएका दलहरुप्रति जनताको विश्वास घट्दै जानु भनेको ती दलहरुप्रति जनताको अविश्वास नै हो ।
नेपालमा अहिले ६ वटा राजनीतिक धारहरु देखिएका छन् । पहिलो धार उदार लोकतन्त्रवादी धार जसको नेतृत्व नेपाली कांग्रेसले गर्दै अँएको भएपनि ऊ समेत सत्ताको प्रलोभनमा परेर आफ्नो विचार र सिद्धान्तलाई छोडेर जुनसुकै दलसँग पनि विचारै नमिल्दा पनि गठबन्धन गरेर सत्ता प्राप्ति गर्ने खेलमा सक्रिय भएको छ । दोस्रो धार भनेको माक्सवादी, समाजवादी धार हो । जसको नेतृत्व नेकपा एमालेले गर्दै आएको छ । यो धारभित्र माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीपनि आउन सक्छन् तर उनीहरु पनि आफ्नो नीति, सिद्धान्त र विचारलाई छोडेर सत्ता प्राप्तिकै लागि कांग्रेससँग टाँसिन पुगेका छन् । त्यो पनि सत्ता प्राप्तिकै लागि र व्यक्तिगत स्वार्थका लागि तेस्रो धार भनेका संघियतावादी र पहिचानवादी धार त्यसधारभित्र मधेशवादी दलहरु पर्दछन् ।
चौथो धार भनेको उग्रवामपन्थी कम्युनिष्ट धार त्यो धारमा रहेकाहरुले नेपाललाई जनगणतन्त्र बनाउने सपना देख्ने गरेका भएपनि अहिलेकै अवस्थामा त्यो कुनै हालतमा पनि सम्भव देखिँदैन । जनतालाई झुठा आश्वासन दिएर मात्र जनगणतन्त्रको स्थापना हुन सक्ने अवस्था रहँदैन । पाँच धार भनेको पुरातनवादी, राजावादी धार हो त्यसको नेतृत्व राप्रपा लगायतका दलहरुले र राजावादी हुँ भन्नेले गर्दै आएका छन् । छैठौँ धार भनेको नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरु हुन् । यस धारमा रहेकाहरु पनि लेफ्ट र राइट वा सेन्टरमै रहेका छन् । यी सबै धारमा रहेका शक्तिहरुमा फुट, विभाजन र पार्टीगत स्वार्थ अनि व्यक्तिगत स्वार्थले प्रभाव पारेको प्रष्ट रुपमै देखिएकोले गर्दा कोही पनि एकै ठाउँमा बस्न सक्ने अवस्था देखिँदैन ।
पछिल्लो निर्वाचनको परिणाम हेर्दा आजका दिनमा संघीय संसदभित्र तीनवटा गठबन्धन बन्न सक्छन् । जस्तै मध्यपन्थी, वामपन्थी र दक्षिणपन्थी यी तीन वटै गठबन्धनको राजनीति स्वाभाविक रुपमा भएको खण्डमा र जवाफदेही भयो भने मात्र संसदीय अभ्यसले काम गर्न सक्छ । यदि त्यसो भएको खण्डमा राजनीतिक प्रतिस्पर्धा हुन सक्छ । राजनीतिक प्रतिस्पर्धा भएमात्र त्यो गतिशिल हुन्छ । त्यसो भएको खण्डमा सरकारले पनि आफ्नो विचर, कार्यक्रम नीति अनुसार अघि बढ्न सक्छ । अनि प्रतिपक्षीले पनि सरकारको आलोचनात्मक खबरदारी गर्न सक्छ । सरकार लयमा फर्किएपछि संसद पनि आफ्नो लयमा फर्किन बाध्यता हुनुपर्दछ तर अहिले त्यस्तो अवस्था देखिएको छैन ।
दलहरुले अपवित्र गठबन्धन गरेका हुनाले जबसम्म त्यस्ता अपवित्र गठबन्धन तोडिँदैन तबसम्म नत सरकार नै जवाफदेही हुन सक्छ न त संसदले नै विवेकपूर्ण ढँगले काम गर्न सक्छ ? त्यसै कारणले गर्दा अहिले भएको अपवित्र गठबन्धन तोड्न आवश्यक भएको हामीले ठानेका छौँ ।

footer