देउवा र दाहालबीच को पहिला प्रधानमन्त्री बन्ने होड
वि.सं.२०७९ मंसिर २९ बिहीवार १०:४२
shares

काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगले निर्वाचन परिणाम हिजो राष्ट्रपतिकहाँ बुझाएको छ भने प्रदेशसभाको परिणाम पुस २ गते ७ प्रदेशका प्रदेश प्रमुखहरुलाई बुझाउने भएको छ । यस पटकको निर्वाचनमा कुनै पनि राजनीतिक दलहरुले एक्लै बहुमत ल्याउन नसकेका हुनाले अब दुई वा दुई दल भन्दा बढी दलको बहुमतको संयुक्त सरकार गठन हुने निश्चित रहेको छ ।
हालको पाँच दलीय सत्ता गठबन्धनले गठबन्धन नै गरेर निर्वाचनमा गएको भएपनि उसले सरकार गठनको लागि आवश्यक पर्ने बहुमत संख्या ल्याउन नसकेको र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने पक्कापक्की रहेको छ भन्ने उद्घोष गरिसकेका हुनाले कस्को नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निश्चित नभएपनि गठबन्धनकै सरकार बन्ने निश्चित रहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने चाहनामा रहेका भएपनि उनकै पार्टीभित्रैबाट उनको विरोध हुँदै आएको छ । कांग्रेसका नेता रामचन्द्र पौडेल महामन्त्री गगन थापासहितका नेताहरु प्रधानमन्त्री बन्नका लागि लागि परेका भएपनि उनीहरुलाई प्रधानमन्त्री बन्न त्यति सहज अवस्था देखिएको छैन । कांग्रेस नेता विमलेन्द्र निधि प्रकाशमान सिंह, डा. शशांक कोइराला लगायतका नेताहरु देउवाकै पक्षमा रहेका र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फको टिकट वितरणमा सभापति देउवाकै हालीमुहाली चलेको हुनाले देउवा पक्षकै धेरै सांसदहरु निर्वाचित भएर आएका हुनाले संसदीय दको नेतामा देउवा नै चुनिने निश्चित जस्तै रहेको छ ।
निर्वाचनको परिणाम सार्वजनिक भई नसक्दै देउवाले आफू प्रधानमन्त्री बन्ने रणनीति अख्तियार गरिसकेका र एउटै दलको बहुमत नभएको हुनाले सत्तामा सहभागि हुने दलहरुको सहयोग र समर्थन समेत आवश्यक पर्ने भएकाले गर्दा देउवा नै प्रधानमन्त्री बन्न सक्छन् ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीचमा आउँदो पाँच वर्षे कार्यकालमा आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति पहिला नै भइसकेको बताइतापनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा मतभेद रहेको छ । देउवा वा दाहाल जो पहिला प्रधानमन्त्री बने पनि पहिलो दुई वर्षे कार्यकाल उनीहरुले सहज रुपमै विताउनेछन् । दुई वर्ष सम्म प्रधानमन्त्रीका विरुद्ध संसदमा अविश्वासको प्रस्ताव राख्न नपाइने सम्वैधानिक व्यवस्थाले गर्दा देउवा र दाहाल दुवैले पहिलो प्रधानमन्त्री बन्न चाहेका छन ।
अबको केही दिन भित्रमा नयाँ सरकार निर्माण हुने प्रायः पक्कापक्की रहेको छ । नयाँ सरकारको गठन पश्चात् आउँदो फागुनमा राष्ट्रपति, उपराष्ट्रपतिको समेत निर्वाचन गराउनुपर्ने भएकाले दलहरुले अहिले देखि नै सम्भावित राष्ट्रपतिको खोजि गर्न थालेका छन् । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीकै नेताहरु राष्ट्रपति बन्न सक्ने सम्भावना समेत रहेको छ ।
गठबन्धनमा रहेका दलहरुमध्येबाट रामचन्द्र पौडेल, झलनाथ खनाल, माधव नेपाल, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका नेता एवं पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र अग्नि प्रसाद सापकोटा सहित महन्थ ठाकुर पनि राष्ट्रपतिका सम्भावित उम्मेदवार रहेका छन् भने दलबाहेकका अन्य केही व्यक्तिहरु पनि राष्ट्रपति बन्नका लागि नेताहरुलाई फकाउन लागि परेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र ७ प्रदेश प्रमुखहरु समेत सत्ता गठबन्धनले भागवण्डा गरी सत्ता गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको भएपनि दुई वर्षपछि भने अहिलेको सत्ता गठबन्धन टिक्न सक्ने सम्भावना न्यून रहेको छ ।
त्यसैगरी अहिले नै अर्को गठबन्धन समेत बन्न सक्छ । नेकपा एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गर्न सक्ने सम्भावना समेत देखिएको छ । त्यसमा माओवादी केन्द्रले हालको सत्ता गठबन्धनबाट हट्नुुपर्ने सर्त एमालेको रहेको छ ।
एक थरिका अनुसार पुष्पकमल दाहालले कांग्रेसलाई तर्साएर आफू पहिलो प्रधानमन्त्री बन्ने रणनीतिक उदेश्यका साथ नेकपा एमालेलाई देखाउँदै आएका छन् । एमालेले आफूलाई समर्थन गर्ने भन्दै कांग्रेसलाई तर्साएर गठबन्धनकै सरकारको नेतृत्व गर्ने रणनीतिमा उनी लागि परेका छन् ।
कांग्रेसभित्र त्यस विषयमा सामान्य छलफल र बहस समेत भएको छैन फेरी कांग्रेसभित्रै संसदीय दलको नेता बन्ने होडमा नेताहरु रहेका र देउवाकै नेतृत्वमा सरकार निर्माण गर्न नहुने पक्षमा केही सांसदहरु रहेकाले गर्दा जस्को नेतृत्वमा सरकार निर्माण भएपनि त्यो सरकार पनि रिमोर्ट कन्ट्रोलबाटै चल्ने निश्चित जस्तै रहेको छ ।






































