एक सय रोपनी जग्गा सुटुक्क हाउजिङ्गलाई
वि.सं.२०७८ माघ ६ बिहीवार १६:१६
shares

काठमाडौ । जनप्रतिनिधिहरु कति भ्रष्ट छन् भन्ने कुरा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले पुष्टि गरेको छ । सूर्य विनायक नगरपालिका वडा नं. ९ मा राजमार्गसँग जोडिएको झण्डै १०० रोपनी जग्गा मेयर बासुदेव थापा र वडा अध्यक्ष उपेन्द्र केसीकै मिलेमतोमा भूमाफियाले कब्जा गर्न लागेको नागरिक सरोकार समितिले आरोप लगाएको छ ।
समितिले हालै एक पत्रकार सम्मेलन गरी ग्रिन हाउजिङ प्रा.लिले सु.न.पा. का मेयर थापा र वडा नं. ९ का वडा अध्यक्ष केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको खुलाएको हो । समितिले व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ ।
वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिचांई, चरिचरण र वनजंगल माथि गरेको हस्तक्षेपको स्थानिय जनता र नागरिक सरोकार मुल समितिबाट विरोध हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनी भन्दा बढी जग्गा हाउजिङले कब्जा गरेको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानिय निकायको भएपनि स्थानीय तहहरुले नै हाउजिङसँग गोप्य मिलेमतो गरेको उनले आरोप लगाए । खत्रीले भने, ‘यो विषयमा सम्बन्धित स्थानमा कुरा राख्दा कुनै पनि हिसाबले सरकारी जग्गा हिनामिना हुन दिदैनौ भन्ने तर काम चाँही रोक्न कसैले पनि सकेनन् ।’ जग्गा कब्जामा राजनीतिक पार्टीका नेताहरु नै हाउजिङ कम्पनीसँग साँठगाँठ गरेको समाचार बाहिर आएको उनले सुनाए ।
सबै गाउँलेहरु एकिकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उनले जानकारी दिए । उनले भने,‘आज हामी सरकारी सम्पत्ति सुरक्षा र सम्पत्ति हिनामिना नहोस् भनेर यहाँसम्म आएका छौै ।’ सरकारी सम्पत्ति चाँही सरकारकै हुने तर सबै भौतिक संरचना चाँही कम्पनीको अन्ुकुल निर्माण गर्न नहुने उनले तर्क राखे ।
सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रुपमा अगाडी बढ्ने चेतावनी दिए । यसको बारेमा वकिलसँग पनि कुरा भइरहेको बताए । प्रधानमन्त्री कार्यालयमा गएर कुरा राख्दा समेत सुनुवाई नभएको उनले बताए । त्यस्तै, शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई कुरा राखेपनि तत्काल काम रोक्ने आश्वासन दिइएपनि काम नरोकिएको उनले गुनासो पोखे ।
प्रधानमन्त्री कार्यालयदेखि वडासम्म जाँदा पनि काम नभएकोमा थकित हुँदै उनले भने, ‘पैसाको अगाडी कसैको पनि केही नलाग्दो रहेछ । पैसासँग सबै डराउने रैछन् । सकिदैन रहेछ । ’ कलम बलियो हुने भन्दै आज पत्रकारको सहायता लिन आएको उनले बताए । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजूरीमा परेको छ । समितिले प्रमाणित दस्तावेजहरुसहित जग्गा कब्जा गरिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ ।





































