मुलुककै अभिभावक बन्ने कि एउटा दलको नेता ?
वि.सं.२०८२ साउन ८ बिहीवार १०:५८
shares

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा पुन सक्रिय हुने उद्घोष गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग नै उत्पन्न भएको छ । विद्यादेवी भण्डारी मुलुकको दुई पटक राष्ट्रपति भैसकेकी र राष्ट्रपति हुँदा संविधानको पालक, संरक्षक र नेपाली सेनाको परमाधिपति सम्म भएकी व्यक्ति हुन् । नेपालको संविधान र राजनीतिक दलहरुका विधानमा राष्ट्रपति भैसकेका व्यक्ति पुन राजनीतिमा सक्रिय हुन पाउने कि नपाउने भन्ने विषयमा मौन रहेकाले गर्दा नेकपा एमालेका केही नेताहरु भण्डारीलाई पुनः राजनीतिमा सक्रिय हुुन कुनै कठिनाई नभएको बताउँदै उनलाई राजनीतिमा सक्रिय हुन कुनै बाधा विरोध नहुने बताउँदै आएका छन् । भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि नेकपा एमालेको उपाध्यक्ष रहेकी थिइन् ।
एउटा मुलुकको राष्ट्रपति भैसकेका व्यक्ति पुन राजनीतिमा सक्रिय हुनु भनेको राजनीतिक दलको नेतामात्र हुनु हो । नेपाली सेनाको परमाधिपति भईसकेका व्यक्ति र संविधान अनुसार संविधानको पालक र संरक्षक रहिसकेका व्यक्ति फेरी राजनीतिमा फर्किएर एउटा दलको नेता हुनु भनेको राष्ट्रपति जस्तो गरिमायम संस्थाकै अपमान हो । संविधानको पालक र संरक्षक रहिसकेका व्यक्ति किन र केका लागि फेरी राजनीतिमा फर्कनुपर्ने आवश्यकता प¥यो ? त्यस विषयमा भण्डारी र भण्डारी पक्षले जनतालाई चित्त बुझ्दो जवाफ दिनुपर्ने हुन्छ । राष्ट्रपति भनेको मुलुककै सर्बोच्च पद रहेको र सो पदभन्दा माथि अर्को पद नरहेकाले गर्दा राष्ट्रपति भैसकेका व्यक्ति पुन सक्रिय राजनीतिमा फर्कदा राष्ट्रपति पदकै गरिमा घट्ने र राष्ट्रपति भैसकेका व्यक्ति एउटा दलको नेता हुँदा राष्ट्रपति पदकै गरिमा र प्रतिष्ठामा आँच आउन सक्छ । मुलुकको सर्बोच्च पदमा पुगिसकेका व्यक्तिले राष्ट्रपति पदको गरिमा राख्न नसक्नु र संविधानको पालक र संरक्षक रहिसकेका व्यक्ति एउटा दलको नेतामा खुम्चिनु भनेको संविधान र मुलुककै लागि दुर्भाग्य हुन सक्छ । त्यसैले गर्दा भण्डारी अब सक्रिय राजनीतिमा आउनु भन्दा मुलुककै अभिभावकको भूमिकामा रहनु उपर्युक्त हुन सक्छ ।
सक्रिय राजनीतिमा आउँदा र दलको नेता हुँदा जनताले राजनीतिक दल र नेताहरुलाई गाली गर्ने र विभिन्न प्रकारका आरोपहरु लगाउने गरेका हुनाले राष्ट्रपति भैसकेका व्यक्तिले किन र के का लागि आरोप र गाली गलौज सहने ? राजनीतिक दलहरु प्रति जनताको विश्वास दिन प्रतिदिन घट्नै गएको र जनतामा सबै नेताहरु उस्तै हुन जनताको हितभन्दा आफ्नो हितमात्र हेर्दछन् भने छाप परिसकेका अवस्थामा राष्ट्रपति हुँदा कुनै विवादमा नआएकी भण्डारी अहिले पूर्व राष्ट्रपति किन विवाद आउन चाहिरहेकी छन् ? नेकपा एमालेमा धेरै नेता तथा कार्यकर्ताहरु रहेका र मुलुक हाँक्न उनीहरु नै सक्षम रहेकाले गर्दा पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनु भन्दा नेपालकै नेता र अभिभावकको रुपमा रहेर सरकारका राम्रा कामको समर्थन र नराम्रो कामको विरोध गर्दै सरकारलाई दवाव दिन सक्ने अवस्थामा रहेकाले गर्दा भण्डारी पार्टीका होइन मुलुककै अभिभावको भूमिकामा रहनु सत् प्रतिशत उचित हुनेछ ।
पार्टीका राजनीतिमा सक्रिय हुँदा एउटा पार्टीका मात्र नेता हुने र अभिभावकको भूमिकामा रहँदा सबै पार्टीहरुको अभिभावकको भूमिकामा रहन सक्ने भएकाले व्यक्तिगत रुपमा भण्डारीलाई विवादमा पार्न केही व्यक्तिहरु लागि परेको जस्तो देखिएको छ । भण्डारी स्वयम्ले अब निर्णय गर्ने बेला आएको छ । मुलुककै अभिभावक भूभिकामा रहेर नेपाली जनताको सेवा गर्ने कि एउटा पार्टीको नेता भएर पार्टीको भूमिकामा मात्र खुम्चिने ? अब त्यसको निर्णय अरुले होइन स्वयम् भण्डारीले नै गर्नु उपर्युक्त हुनेछ । नेकपा एमालेभित्र अहिले केही नेताहरु भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेको जस्तो देखिएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका विरुद्धमा केही नेताहरुले विरोधी अभियान चलाएका भएपनि अध्यक्ष ओलीकै पक्षमा पार्टीका सबै कमिटीहरुमा झण्डै दुई तिहाई मत रहेकाले गर्दा भण्डारी एमालेको सक्रिय राजनीतिमा आएर एमालेको विरोधी खेमामा रहेकाहरुको मात्र नेतृत्व लिन सक्ने अवस्था पार्टीमा देखिएकाले गर्दा पार्टीभित्र एउटा पक्षको मात्र नेता हुन भण्डारीले किमार्थ सहमति जनाउनु हुँदैन । राष्ट्रपति भै सकेकी व्यक्ति एउटा पार्टीको नेताको रुपमा खुम्चिन राजी हुनु भनेको पूर्व राष्ट्रपति पदकै गरिमा घट्नु र मुलुककै अभिभावक हुन सक्ने अवस्थालाई कमजोर पार्नु हुँदैन भन्ने हामीले ठानेका छौँ ।

































