राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै
वि.सं.२०८२ असोज २१ मंगलवार ०८:५७
shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ ।बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ । बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ ।
साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।





































