मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने
वि.सं.२०८२ कात्तिक २२ शनिवार ०८:५८
shares

जनकपुरधाम । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गथ असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ ।
सरकारमा दाबी गर्ने समयमा ५ दल रहेपनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यक छ ।
सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने विपक्षमा छन् ।
यता जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागिसकेकाले यी दुई प्रदेशसभा सदस्य कतै पनि खुलेका छैनन् त्यस्तै जसपा नेपालका एक जना प्रदेशसभा सदस्य निलम्बनमा छन् । मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले विश्वासको मत दिन पाउने छैनन् ।




































