पार्टीलाई विभाजित गराउने कि एक बनाउने जिम्मेवारी थापाकै काँधमा
वि.सं.२०८३ वैशाख १० बिहीवार १२:२५
shares

काठमाडौ । मुलुककै पुराना भनिएका दलहरु मध्येका नेपाली कांग्रेस र नेकपा एमाले अहिले बेला जीवन मरणको अवस्थामा रहेका छन् । आफूलाई लोकतन्त्र र प्रजातन्त्रको हिमायती भन्ने नेपाली कांग्रेस अहिले जीवन मरणको अवस्थामा पुगेको छ । गत फागुन २१ गते भएका प्रतिनिधिसभाको निर्वाचनमा नराम्रोसँग पराजित हुनु परेका कांग्रेस, एमाले आफ्नै कारण कमजोर अवस्थामा पुगेका छन् । दलहरु भित्र लोकतान्त्रिक चरित्र नभएको र पक्ष विपक्ष जस्तो भएर गुट उपगुट सञ्चालन गर्दै आएका हुनाले कांग्रेस, एमाले कमजोर अवस्थामा पुगेका हुन् ।
कांग्रेस, एमाले अहिलेको कमजोर अवस्थामा पुगेको यो पहिलो पटक होइन । विगतमा पनि कांग्रेस, एमाले कमजोर अवस्थामा पुगेको इतिहास साक्षी रहेका छन् । त्यसबेला तत्कालिन माओवादी केन्द्र सबै भन्दा ठुलो पार्टी भएको थियो । तर, उसले पनि आफ्नै त्यो हैसियतलाई टिकाई राख्न सकेन । त्यही कारणले गर्दा फेरी नेपाली कांग्रेस र एमाले जुरुक्कै उठ्न सफल भएका थिए ।
एक पटकको निर्वाचन परिणामले मात्र दलहरुको मूल्यांकन हुन सक्दैन । उनीहरुले जनताप्रति गर्ने व्यवहारले नै उनीहरुको मूल्यांकन जनताले गर्ने भएकाले एक पटकको निर्वाचनमा कमजोर अवस्थामा पुग्नुलाई राजनीतिक चक्र र फेरी जुरुक्कै उठ्न सक्ने रुपमा उनीहरुले व्यवहार गर्नुपर्नेमा अहिलेको संकटपूर्ण अवस्थामा कांग्रेस र एमालेले आ आफ्ना दलभित्र उठेका समस्याहरु समाधान गरी जनताको पक्षमा आवाज बुलन्द गर्दै अघि बढ्नुपर्नेमा कांग्रेस, एमाले दुवै आ आफ्नै दलभित्र गुट उपगुट खडा गरेर नेतृत्वलाई कमजोर पार्ने अवस्थामा लाग्नु भनेको जनताप्रति उनीहरु जिम्मेवार नहुनु नै हो ।
नेपाली कांग्रेस अहिले गुट, उपगुटको शिकार भएको छ । खास गरेर नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गगन थापा पक्षले गत पुषमा विशेष महाधिवेशन गरेर त्यही महाधिवेशनबाट थापा आफैँ सभापतिमा निर्वाचित भएपछि कांग्रेसभित्रको विवाद सडकमा पुगेको थियो । तत्कालिन सभापति शेरबहादुर देउवा पक्षले सो विशेष महाधिवेशनमा भाग नलिएका हुनाले त्यो विशेष महाधिवेशन थापा पक्षको मात्र थियो । थापा पक्षलाई सर्बोच्च अदालतले समेत मान्यता दिएकोले अब सभापति थापाको कोटमा कांग्रेस एकजुट हुने कि विभाजित हुने भन्नेमा पुगेको छ ।
थापा पक्षले आउँदो १५ औँ महाधिवेशनका लागि अहिलेको थापा पक्षको कार्यसमिति भङ्ग गरेर अर्को निर्वाचन गराउने निर्वाचन समिति गठन गरेर दुवै पक्षका नेताहरुलाई कमिटीमा राखेर अघि बढ्न सकेको खण्डमा मात्र कांग्रेस एकजुट हुन सक्ने सम्भावना देखिन्छ । कांग्रेस फेरी विभाजित भएको अवस्थामा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा सत्ताधारी दल रास्वपालाई नै हुने निश्चित जस्तै रहेको छ । त्यही कारणले गर्दा अब पार्टी विभाजित गराउने कि एक बनाउने ? त्यसको जिम्मेवारी थापाकै हो त्यसैले थापाले अब पार्टीलाई एकजुट बनाउन लाग्नु आजको आवश्यकता बनेको छ ।































