kumari
stcnepal

आज पनि नेप्से सूचक १४.२६ अंकले तल झर्यो

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट सँगै लगानीकर्ताहरु तनावमा देखिन थालेका छन् । तेस्रो त्रैमासको व्याज र किस्ताका लागि शेयर बिक्री गर्नेहरु हाबी हुँदा बजार सुधार हुन नसकेको हो । बीमा समितिले क्यापिटल प्लान ल्याए पछि बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्ताहरु पनि अचम्ममा परेका छन् ।

बीमाको क्यापिटल प्लान सँगै बजार सुधार हुने अपेक्षामा शेयर खरिद गरेकाहरु अहिले लगभग नोक्सानमा छन् । बजार घट्यो अव किन्न बेला भयो भन्दै खरिद गर्नेहरुले पनि नोक्सान बेहोरिरहेका छन् । दिन दिनै बजार घट्न थाले पछि अल्पकालिन लगानीकर्ताले नोक्सानमै शेयर बिक्री गरिरहेका छन् । शेयर बजार २५ सयको विन्दु भन्दा तल झरेर सुधार हुने भन्दै उनिहरुले अहिले शेयर बिक्री गरेर अझै घटेपछि उठाउने दाउले पनि बजार माथि जान नसकेको हो । अर्को तर्फ बैंकिङ तरलता अझै सहज हुने संकेत देखिएको छैन । सरकारले पूँजीगत खर्च बढाउदै गर्दा पनि बैंकिङ प्रणालीमा पैसा आउन सकिरहेको छैन । यसले गर्दा अर्थमन्त्री देखि विश्लेषकहरु समेत पैसा सिस्टम भन्दा बाहिर गइरहेको विश्लेषण गरिरहेका छन्।

यहि कारणले आज पनि नेप्से सूचक १४.२६ अंकले तल झरेको छ । सूचक सँगै कारोबार रकम पनि एक अर्ब ७५ करोड रुपैयाँमा सिमित भएको छ । कारोबार खुलेको केहि समय पछि बजार सुधार हुने संकेत देखिएको थियो । तर बजार सुधार हुनुको सट्टा उल्टै घट्यो । आज होटल तथा पर्यटनको सूचक बाहेक सम्पुर्ण सूचक घटेका छन् । शेयर बजार घट्दा पनि तीन वटा कम्पनीको शेयर मूल्यमा भने सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल, नेष्डो र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

 

 

footer