सत्ता गठबन्धनको देशको अर्थतन्त्रको अवस्था बारे विज्ञहरु सँग छलफल गर्ने निर्णय
वि.सं.२०७८ चैत २२ मंगलवार १५:५०
shares

काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फ बाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्ष सँग बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा गठबन्धनमा आबद्ध दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सुझाव दिएका हुन् ।
साथै, बैठकले स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गर्ने निर्णय पनि गरेको छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय भएको हो ।
यस बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुको सहभागीता थियो ।





































