माओवादी र नेकपा एकीकृत समाजवादीको मोर्चाबन्दी
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०८:३८
shares

काठमाडौ । माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले बाहेकका अन्य साना दललाई मिलाएर वाम–समाजवादी मोर्चा बनाउने उद्घोष गरेका भएपनि त्यो असम्भव भएपछि अहिले सत्ता गठबन्धनभित्र सिट बाँडफाँडमा कांग्रेसले अवरोध पु¥याएको खण्डमा गठबन्धनभित्र रहेका अन्य वामपन्थी दलहरुसँग मोर्चाबन्दी गरेर संघीय संसद र प्रदेश सभाको निर्वाचनमा जाने बताएका छन् । अध्यक्ष दाहालको उक्त भनाई कांग्रेसले १ सय ६५ सिट मध्ये १०० सिट भन्दा तल लिन आनाकानी गरेपछि उनको यस्तो अभिव्यक्ति आएको हो ।
पाँच दलीय गठबन्धनमा रहेका वामपन्थी दलहरुमा माओवादी केन्द्र, माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । ती मध्येको राष्ट्रिय जनमोर्चाको केही जिल्लामा मात्र केही प्रभाव रहेकाले गर्दा दाहालले भने झैँ मोर्चाबन्दी गरेपनि त्यस्तो मोर्चाबन्दी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचमा मात्र हुनेछ ।
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग संयुक्त घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति गरिसकेको छ भने पार्टी एकीकरण गर्न संयोजन समिति समेत नेकपा एकीकृतले बनाईसकेको हुनाले निर्वाचनपछि नेकपा एकीकृत समाजवादी माओवादीमा विलय हुने निश्चित रहेको अवस्थामा उनीहरु बीचमा मोर्चाबन्दी हुनु कुनै नौलो कुरा भएन ।
माओवादी केन्दका अध्यक्ष दाहालले कांग्रेसलाई तर्साउनका लागि मात्र त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने कांग्रेसका एक नेताले बताएका छन् । उनका अनुसार पाँच दलीय गठबन्धनभित्र सिट संख्यामा कुरा नमिलेको खण्डमा कांग्रेस एक्लै निर्वाचनमा जान क्छ । १०० सिट भन्दा तल कांग्रेस जान सक्ने सम्भावना नरहेको बताउँदै उनले भने माओवादी र नेकपा एकीकृतलाई गठबन्धन आवश्यक परेको हो, कांग्रेसलाई होइन ।
कम्युनिष्ट पार्टीहरु विभाजित भएको र स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याएको हुनाले कांग्रेसले कसैको बैशाखी टेकिरहनु पर्ने आवश्यकता छैन तर दाहाल नेपालको उद्धारका लागि कांग्रेस लागि परेको भएपनि सिट संख्यामा उनीहरुले सहमति नजनाएको अवथामा अबको केही दिन भित्रैमा कांग्रेसले एक्लै निर्वाचनमा जान सक्ने निर्णय गर्न सक्छ ।

































