पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १८:०२
shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट)मा परेका छन् ।
बोर्डको छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार राखिएको छ ।नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।
सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र रामचन्द्र सेढाईं (गोरखा) छन् ।
त्यसैगरी, रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन् । श्रद्धा श्रेष्ठ पूर्वमन्त्री हुन् ।
छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ । उनीहरूले उक्त अवसरमा प्रस्तुतीकरणसमेत दिनुपर्नेछ ।



































