kumari
stcnepal

भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउँदै

काठमाडौं । भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउने भएका छन् । दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी वैशाख ९ गते काठमाडौं आउन लागेका हुन् ।

जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । जसमा सर्वसाधारण र विभिन्न पेशामा कार्यरत व्यक्तिहरुले सहभागिता जनाउन सक्ने आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।

विन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको अध्यक्ष डुम्रेले बताए । उनले कोरोना महामारी बाट संकटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिंदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजार देखि २० हजार रुपैयाँ सम्मको टिकट दर तोकिएको अध्यक्ष डुम्रेले बताए । कार्यक्रममा उद्यमी व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कुल, कलेज, अन्य उद्योग व्यवसायका अध्यक्ष, सञ्चालक एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, वैशाख ११ गते होटल हायात प्लेस ताहाचलमा विन्द्राले राउण्ड टेबल छलफल गर्ने कार्यतालिका छ । सो प्रशिक्षणमा सिनियर एक्ज्युकेटिभ, विभिन्न व्यवसायीहरु लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीलाई प्रशिक्षण दिने कार्यक्रम छ । यसमा सहभागी हुन २५ हजार देखि ३५ हजार सम्मको टिकट दर तोकिएको छ । विन्द्रालाई पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविर सम्म माउन्टेन फ्लाइट गराउने योजना भएपनि यसको कार्यक्रम तय नभइसकेको उनले बताए ।

 

 

 

footer