राजनीतिमा अपराधिकरणको अन्त्य कहिले ?
वि.सं.२०८१ चैत २८ बिहीवार १३:४४
shares

विगत लामो समयदेखि नेपाली राजनीतिमा अपराधिकरण प्रवेशलाई राजनीतिक दलहरुले नै प्रवेश गराएका छन् । त्यसैले परिणाम हो २५ करोड रुपैँया बराबरको विदेशी मुद्राको तस्करी प्रकरण । राजनीतिक दलहरुले अनेक प्रकारका काण्डमा जोडिएका व्यक्तिहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने र तिनीहरुलाई संरक्षण गर्ने भएकाले नेपालको छवी अन्तर्राष्ट्रिय जगतमा नराम्रो हुँदै गएको छ । २५ करोड बराबरको विदेशी मुद्राको तस्करीमा संलग्न भएका व्यक्ति माओवादी केन्द्रका नेता नारायण पौडेल भएको अनुसन्धानले खुलाएको छ ।
चार जना दाजुभाईहरु उनीहरु सबै माओवादी केन्द्रका नेता भएका र विगत लामो समयदेखि उनीहरु तस्करीमा संलग्न हुँदै आएका र राजनीतिमा समेत सक्रिय रहेको अनुसन्धानले खुलाएको हुनाले उनीहरुलाई बचाउनका लागि पछिल्लो समयमा माओवादी केन्द्रका नेताहरु नै सक्रिय रहेका छन् । नारायण पौडेलका दाई २०७४ को निर्वाचनमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए । उनी पनि १५ किलो सुन तस्करीमा आरोपित रहेका थिए । पौडेलका ४ जना दाजुभाई कुनै न कुनै तस्करी काण्डमा मुछिदै आएका भएपनि राजनीतिक दवावले गर्दा उनीहरुमाथि कारबाही हुन सकेको थिएन । त्यसैको परिणामस्वरुप अहिले नारायण पौडेलले २५ करोड बराबरको विदेशी मुद्राको तस्करीमा जोडिएका र उनै मुख्य व्यक्ति रहेको तथ्य खुलेको छ ।
राजनीतिक दलहरुले तस्करमिा जोडिएका व्यक्तिहरुबाट मोटो रकम लिने र उनीहरुलाई बचाउने कार्यमा राजनीतिक दलका उच्च तहका नेताहरु नै संलग्न रहने भएकाले त्यस्तो तस्करीमा मुछिएका व्यक्तिहरुले उन्मुक्ति पाउँदै आएका छन् । विगतमा ठुला ठुला घोटला, सुन तस्करी, अनियमितता लगायतका प्रकरणमा राजनीतिक कनेक्सन सामान्य बन्न थालेको छ । विगतमा सुनदेखि डलर तस्करी, ठुला ठुला भ्रष्टाचार सार्वजनिक जग्गा हिनामिना ललिता निवास जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड लगायतका अनेक प्रकरण काण्डमा राजनीतिक केन्द्रको संलग्नता स्थापित भईसकेको छ । यस पटकको डलर र युरो तस्करी काण्ड त्यसैको सिलसिला मात्र हो । पछिल्लो यो प्रकरणपछि निष्पक्ष अनुसन्धान र वास्तविक दोषीले कारबाही भोग्नुपर्ने परिस्थिति निर्माण भएमा राजनीतिमा अपराधिकरण गठजोड विच्छेद गर्न बाटो भएपनि बल पुग्ने र राजनीतिक अपराधिकरणको अन्त्य नै नभएपनि अन्त्य हुने बाटो खुल्न सक्छ । त्यसैले गर्दा अब सरकार, राजनीतिक दलहरुले राजनीतिमा अपराधिकरणलाई अन्त्य गर्न ठोस पहल गर्नुपर्ने टड्कारो आवयश्कता देखिएको छ ।
२५ करोड तस्करी काण्डमा माओवादी नेता पौडेल जोडिएको विवरण उजगार भइसकेको भएपनि त्यस विषयमा संघीय संसदको प्रमु विपक्षी दल माओवादी केन्द्र भने चुपचाप रहेको छ । माआवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहालको बोली अहिले सुकेको छ । आफ्नै पार्टीको नेता २५ करोड डलर र युरोेको तस्करीमा संलग्न भएका खबरहरु सार्वजनिक भएपनि उनी त्यस विषयमा मौन रहेर अरुलाई अनेक प्रकारका आरोप लगाउँदै अप्रमाणित आरोपहरु लगाउँदै आएका छन् । राजनीतिमा अपराधिकरण भित्र्याउने व्यक्ति नै पुष्पकमल दाहाल र माओवादी केन्द्र नै हो । ठुला ठुला भ्रष्टाचारका काण्डमा कांग्रेस, एमाले र अन्य दलका नेता तथा कार्यकर्ताहरु संलग्न भएका भएपनि माओवादी केन्द्रका नेताहरु भने तस्करी काण्डमा मुछिँदै आएका छन् । त्यही कारणले गर्दा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु तस्करी काण्डमा मुछिएका र उनीहरुले माओवादी केन्द्रलाई सहयोग गरेका हुनाले पार्टी अध्यक्ष दाहालको मुख बन्द भएको छ । राजनीतिमा जोडिँदा जस्तासुकै अपराध गरेपनि उन्मुक्ति पाइन्छ भनेरै होला अपराधिक पृष्ठभूमिका व्यक्तिहरु नै दलको झण्डा बोक्ने र दललाई ठुलो मात्रामा आर्थिक सहयोग गर्ने गरेका हुनाले त्यस्ता व्यक्तिलाई चोख्याउने छाताजस्तो राजनीतिक दलहरु बन्दै गएका छन् । राजनीतिक दलहरु आफ्नो मूल मुद्दाबाट बरालिँदै गएका र जुन वर्ग र व्यक्तिसँग नियमित स्वार्थ आदानप्रदान हुन्छ तिनैसँग नेताहरु नजिक हुन्छन् उनीहरुलाई पद दिलाउन लाभको पदमा संघर्ष चल्छ उनीहरु त्यस्तै व्यक्तिको गतिविधिलाई सहजीकरण गरिदिन्छन् त्यसैले गर्दा राजनीतिलाई अपराधिकरण गरिँदै गएको छ ।
पार्टी र नेताहरुमा बैचारिक बहस नै हुन छाडेको छ, दलहरु अपारदर्शी बन्दै गएका छन् । यस्तो देख्दा जनताका एजेण्डा मूलतबीमा राखिएका छन् । जनताका आवश्यकता पूरा गर्नुको बदला जनता जनतालाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा राजनीतिक दलहरु लागि परेका छन् । राज्य र जनताबीचको सम्बन्ध प्राविधिक मात्र हुन पुगेको छ । यस्तो बेला यस्तै भइरहन्छ र जनता निराशा बढ्दै जाने निश्चित जस्तै रहेको छ । अपराधिहरुले यस्तो बेला राजनीतिक पहुँच खोज्ने गर्दछन् अनि राजनीतिक दलहरुले उनीहरुलाई सहयोग गर्दै आ आफ्नो स्वार्थ पूरा गर्ने गरेका हुनलो अब राजनीतिलाई अपराधिकरणबाट जोगाउन आवश्यक रहेको हामीले ठहर गरेका छौँ ।

































