झापामा राप्रपाको बृहत सभा सम्पन्न
वि.सं.२०७८ चैत २१ सोमवार ०७:२३
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा शक्ति प्रदर्शन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन सहित राजनीतिक हेबिवेट नेताको गृह जिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौं मानिसको सहभागिता थियो।
स्थानीयका अनुसार एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौला सहित नेताको गृह जिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएका छन्। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दललाई चुनौती दिएका हुन्।
गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको केचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो। गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए। २०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।
सभालाई लिङ्देन सहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपा सहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् । मौजुदा प्रतिनिधिसभामा राप्रपा बाट लिङ्देनको मात्र सहभागिता छ।





































