राजन कार्की
सडक, संसद, सरकार, शासन प्रशासन जता हेरे पनि राजनीतिक फोहर छ छताछुल्ला देखिन्छ, हरेक नेता अर्को नेतालाई भ्रष्टाचारी भनिरहेको छ । न्यायिक छानबिनका कुरा उठिरहेका छन् । ढाकछोप गर्ने र सत्ता र शक्तिमा रमाउने जालझेलभन्दा बढी राजनीतिमा केही पनि देखिन्न । यही राजनीतिको छाता ओढेर प्रशासकहरु जागीरलाई टक्सार बनाएर कमाइरहेका छन् ।
पीर र पीडा नागरिकलाई छ । नागरिक सुशासन खोजिरहेको छ, नागरिकलाई कोलमा तोरी पेलेझें नेता र कर्मचारीले पेलिरहेका छन् । नागरिकको छटपटी हेर्ने र न्यायदिने कोही छैन । न्याय दिने ठाउँमा समेत राजनीतिले अपराध गरेर अन्याय गर्न बाध्य पारिरहेको छ ।
यस्तै हुनेरहेछ राजनीतिमा अपराध मिसियो भने । जसरी महमा विष मिसियो भने विषालु हुन्छ, त्यस्तै हुन्छ राजनीति, अनि अपराध नीति बन्छ । लोकतन्त्र चलाउने राजनीतिक दिमागमा अपराध मिसिन पुगेको छ । यसकारण बहुदलको ३५ वर्ष र लोकतन्त्रको १८ वर्षमा राजनीति अपराध मिसिएको अपराधनीति बन्यो । विषालु भएका कारण राजनीतिले देश र जनताको हक मार्दै गएको छ । लोकतान्त्रिक गणतन्त्र अपराधीतन्त्र बन्नपुगेको छ ।
जसरी १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइयो । निरकूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेरलेको त्यो घटना तत्कालीन सभ्यताको सुरूआत मानियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक आवेगको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र लाइयो । हिन्दुवाद र राजतन्त्र यिनले लेखेको संविधानमा शव होला तर अहिले पनि बाँचेकै छ । संविधान शब बनेर गनाउँदा धर्मनिरपेक्षता र गणतन्त्रको साँप्रा लुछ्ने र जुकाले जसरी रगत चुस्नेहरू बास्ना आइरहेछ भनेर आँखा चिम्लिरहेका छन् । नेपालमा राजनीति भनेको पञ्चदेवलको हण्डी बन्यो, आफूले जति कमाए भयो, आफ्नालाई जति बाँडे पनि भयो ।
इतिहासमा अनेक घटनाक्रम छन् । ती घटनाक्रमबाट सचेत हुने, सिक्ने कार्य हुनसकेन । कालो इतिहासलाई पनि माथ गरेर कलंकित इतिहास निर्माण भइरहेको छ । तैपनि नेताहरु लोकतन्त्रको गुड्डी हाँकिरहेकै छन् । तिनका पछि पछि विवेकहीन कार्यकर्ता लागेका छन् । मर्का नागरिकलाई छ, देशलाई छ । देश र नागरिकको चिन्ता कसैलाई छैन ।
१८ वर्ष भयोे अवैध तरिकाले गणतन्त्र कार्यान्वयन गरेर किनारा लगाएका राजाले मेची महाकाली, राजधानीबाट पटक पटक सहमति, सहकार्य, संवादको आह्वान गरे, नेताहरूले टेरेनन् । राजाले जनता अब जाग्नुपर्छ, जनताले खोजे म यही छु पनि भने । जनता जागेका पनि हुन् । तर अपराधिक सोच भएका गणतन्त्रवादीले जनताको जागरणमा अपराध मिसाइदिए । जनताको ज्यान पनि गयो । न्यायिक छानबिन गरौं भन्दा जालझेलमा नेता रमाइरहे । लोकतन्त्रे नेताहरू लज्जाहीन बनेर हेरिरहे ।
१८ वर्षअघि राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति तोडेपछि कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हालेका थिए । हो, महेन्द्रको जुत्ता लगाएर माइलाछोरा ज्ञानेन्द्र सफल हुन सकेनन् । प्रचण्डको जुत्ता लगाएर गिरिजाप्रसाद तीन बल्ड्याङ् खाए । कांग्रेसजस्तो प्रजातन्त्रवादीले सर्वहारावादीको र मदन भण्डारी मान्ने पार्टीले सिद्धान्तलाई रेट्दा ऊ पनि सफल हुनसकेनन् । सफल व्यक्तिको जुत्ता लगाउँदैमा जुत्ता लगाउने अग्लो हुने होइन रहेछ । डा.रामवरण यादव कसरी राष्ट्रपति बने, विद्या भण्डारी कसरी सडकबाट शितल निवास पुगिन्, रामराजाप्रसाद सिंहलाई बोकेर हार खाएका प्रचण्डले कांग्रेसलाई मत हालेर रामचन्द्रलाई राष्ट्रपति बनाउनु परेको कथा हेर्ने हो भने नेपालको राजनीति र स्वस्थानीको लावण्य देश उस्तै उस्तै लाग्छ । प्रचण्ड सत्ताबाट फ्याँकिए, ओली प्रधानमन्त्री बने । यी दुबै वामपन्थलाई कांग्रेसले बोकेको हो । कांग्रेसको प्रजातान्त्रिक निष्ठा र सिद्धान्त धुलोपिठो, माटो बनिसक्यो । ८ वर्षमा जारी हुन नसकेको संविधान फास्ट ट्याकबाट ०७२ मा जारी गरियो र ०७४, ७९ मा आवधिक चुनाव भयो । यी दुबै चुनावमा कसैको बहुमत आएन, तानातानमै चल्यो, चलिरहेको छ । ०७९ को निर्वाचनमा एमाले पछाडि प¥यो, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी केही आशलाग्दा अनुहारसहित उदाएका हुन् । तर राजनीति उही हानाहाना, तानातान र सेटिङमा छ । यतिबेला सत्तामा भेटिने एमाले कांग्रेस र संसदमा देखिने माओवादी र साना दलहरू एकदोस्रालाई खुइल्याउन अग्रसर छन् । यस्तै छ नयाँ नेपाल थाङ्ने हाल ।
यही परिदृश्य हो नेपालको राजनीति । भाग शान्ति जय नेपाल लोकतान्त्रिक गणतन्त्र बनेको छ ।
पञ्चायत र बहुदलमा भुइँमान्छे प्रताडित भए, आज पनि भुइँमान्छे प्रताडित छन् । कहाँ आयो लोकतन्त्र ? भुइँमान्छेभित्रको आक्रोश आगो हो भन्ने कुरा इतिहासले पनि प्रमाणित गरेको छ । डढेलो लागेपछि सत्ता छेक्न सक्दैन । किन चेत खुल्दैन यी गैंडाका छालाजस्ता बनेका लोकतन्त्रेहरुलाई ।
३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्स सहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्द‘ल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि परे । पादरी ग्याफ्नी र जापानी भिक्षुको प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? दृष्टान्त अनेक छन्, किन आजका लोकतन्त्रबादी हुँ भन्ने लुटाह नेताहरू इतिहासबाट शिक्षा लिदैनन् । इतिहासमा राजतन्त्र मात्र खराव भनेर नालीजस्तो चरित्र चोख्याउनेहरुका लागि गणतन्त्र बाइसधारा बनेको छ ।
बदलियो । समाजवादी हुँ भन्ने कांग्रेसले समाजवादलाई सम्भ्रान्तवादमा बदलिसकेको छ । जसरी पनि कमाउने कांग्रेसको समाजवाद हो । सर्वहारावाद, बहुदलीय जनवाद भन्नेहरूले किन खोजेनन्– १९९३ मे १६ का दिन विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट नारायणीमा कसले, किन खसाल्यो ? मदन भण्डारीकी श्रीमती ८ वर्ष राष्ट्रपति बनिन्, उनले समेत यसमा चासो देखाइनन् । के नेपाल अपराधको चिहान हो, चिहान खोस्रने कोही छैनन् ? र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ? आजका राजनीतिक नेतृत्वले वर्तमान र इतिहासलाई जवाफ दिनुपर्छ, त्यो दिन पनि आउँछ ।
काण्ड कति कति, सत्ताको बलले छोपिएको छ । एनसेल, वाइडबडी, बालुवाटारजग्गा, यति, भुटानी शरणार्थी र भिजिट भिसा प्रकरण, गिरिबन्धु बुढी गण्डकी अनेक छन् भ्रष्टाचार काण्डहरू । हत्याहिंसाको कहालीलाग्दो अवस्था रहेको छ । गंगामायाँ अधिकारीले किन न्याय पाइनन् ? टीकापुरमा किन दुधेबालकको हत्या गरियो ? निर्मला पन्तको बलात्कारी र हत्यारा को हो ? ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार हत्यारा को को हुन् ? यी सबैका बारेमा कुनै नेता बोल्दैनन्, किनकि यी सबै काण्ड प्रकाण्डमा यिनकै आन्द्रा जोडिन्छ । गणतन्त्र गनाएको यिनका लागि सिन्के धूप बनेको छ ।
समयले उठाएको यक्ष प्रश्न छ— कतै राजनीति आमामाथि व्यभिचार गर्ने विरूपाक्षको संस्करणमा त छैन ? अनुरोध यत्ति छ, नेतृत्वमा रहेका प्रत्येकले ऐनमा आफ्नै अनुहार हेरून्ं र अन्यायको टुकुचामा डुबेर कति सफा र सुग्घरी छौं, हेरुन् । समय छ, सुधारियुन । समय घर्केपछि पछुताउने बाहेक के गर्न सक्छन् र ?